दमक/ झापा क्षेत्र नं. ५ बाट प्रतिनिधी सभामा निर्वाचित भएका रास्वपाका वरिक्ष्ठ नेता बालेन्द्र साह (बालेन)ले सत्ताको बागडोर सम्हालेका छन् ।
उनले शुक्रबार १२ः३४ को शुभसाइतमा शपथग्रहण गरेसँगै देशको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए । सपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर १२ः३४ को समय तय गरिएको थियो । ठ्याक्कै त्यही समयमा प्रधानमन्त्रीको शपथ ग्रहण सुरू गरिएको थियो ।
प्रधानमन्त्रीको शपथ ग्रहण समारोह यसपटक परम्परागतभन्दा केही पृथक देखियो । शपथअघि सात जना ब्राम्हण पुजारीले मन्त्रोच्चारणका साथ संखध्वनी गरेका थिए । १०७ जना बटुक र १०७ जना बौद्ध लामाहरूले मंगलवाचन पाठ गरेर कार्यक्रममा आध्यात्मिक माहोल सिर्जना गरे । शपथ समारोहका लागि तयार मञ्चमा लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साक्मा राखिएको छ । सिलाम साक्मा मृत्युको बाटो छेक्ने र सुरक्षा कवचको रूपमा विश्वास गरिन्छ । घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ । संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
शक्तिशाली प्रधानमन्त्री
शक्तिशाली प्रधानमन्त्री पदमा नियुक्त भएका बालेन गणतन्त्र पछिकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् । रास्वपाका वरिष्ठ नेता रहेका उनी झण्डै दुई तिहाईको एक दलिय साथ सहित देशको प्रमुख कार्यकारी बनेका हुन् । फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका हुन् । ३२ वर्षको उमेरमा काठमाडौँ महानगरको नगर प्रमुख बनेका उनी ३६ वर्षको उमेरमा एकल बहुमतसहित देशको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेका हुन् । नेपालको इतिहासमा यसअघि कम उमेरका प्रधानमन्त्री नियुक्त भए पनि बालेन्द्र कान्छो जननिर्वाचित प्रधानमन्त्री बनेका छन् । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा ३२ वर्षमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो भने पञ्चायत अवधिमा डा. तुलसी गिरीले ३३ वर्षमै प्रधानमन्त्रीको नियुक्ति पाएका थिए । जननिर्वाचित युवा प्रधानमन्त्री भने बालेन बन्न सफल भए ।
को हुन् बालेन ?
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को राजनीतिक जीवन लामो नभए पनि उनको चामत्कारीक छविले छोटो समयमानै देशको कार्यकारी प्रमुखको तहमा पु¥याएको छ । शाह गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् । झापा–५ मा प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवादेवी शाहका छोरा हुन् । उनको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा भएको हो भने पुख्र्याैली घर महोत्तरीको एकडारा हो । ‘¥याप आर्टिस्ट’ का रूपमा समेत ख्याति कमाएका उनले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । २०७९ सालको पालिका चुनावमा उनी काठमाडांै महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनले गएको माघ ४ गते महानगरको मेयर पदबाट राजीनामा दिएका थिए । साहले काठमाडांैको मेयर हुँदा शहरी विकास, पर्यटन, शिक्षा र अर्थतन्त्रलगायत प्रवद्र्धनका लागि गरेको काम चर्चामा रहेको थियो । उनले २०७२ सालको भूकम्पपछिको पुननिर्माणमा सक्रिय सहभागिता जनाएका थिए ।
४ मन्त्रालय गाभिए
रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका २२ मन्त्रालयलाई गाभेर १७ मा सिमित गरेको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो जिम्मेवारीमा राखेका छन् । आफैंसँग राख्दा बाँकी १४ जना मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन् । यसअघि अलग अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ र यसको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । त्यस्तै खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी निशा मेहताले पाएकी छन् । वन तथा वातावरण मन्त्रालय पहिलोपटक खारेज भएर कृषि मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी गिता चौधरीले पाएकी छन् । त्यस्तै, भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन् ।
सरकारलाई विदेशी उच्चस्तरीय नेतृत्वबाट बधाई
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि अमेरिका, भारतलगायत विभिन्न देशका उच्चस्तरीय नेतृत्वबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् शाहलाई बधाई दिँदै उनको नियुक्ति नेपाली जनताले नेतृत्वमाथि राखेको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले भारत–नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ उचाइमा पु¥याउन शाहसँग नजिकबाट काम गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, दुवै देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।
यस्तै, नवनियुक्त प्रधानमन्त्री शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । शुक्रबार अमेरिकाले शाहलाई बधाई दिएको हो । काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।
त्यसैगरी, लरेन्स वङले पनि प्रधानमन्त्री शाहलाई बधाई दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनादेशले नेतृत्वप्रति जनताको विश्वास झल्काएको उल्लेख गरेका छन्। सिंगापुर र नेपालबीचको सम्बन्धलाई न्यानो र मैत्रीपूर्ण बताउँदै उनले जनस्तरको सम्बन्ध तथा बहुपक्षीय मञ्चहरूमा भइरहेको सहकार्यको प्रशंसा गरेका छन्। दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आगामी दिनमा सहकार्य गर्न आफू उत्सुक रहेको जनाउँदै उनले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेका छन् ।
विदेशी नेतृत्वबाट आएको यी शुभकामनालाई नयाँ सरकारप्रति अन्तर्राष्ट्रिय समुदायको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।