नवरात्रको नौ दिन सनातन हिन्दू धर्मावलम्बीहरू तथा समस्त मानव जातिका लागि अत्यन्त नै आध्यात्मिक उर्जाले भरिएको दिनको रूपमा आदि शक्ति माता दुर्गा भवानीको पूजा आजा गरी भक्ति भावले मनाउने गरिन्छ। शिव र शक्ति यस अखिल ब्रह्माण्डमा व्याप्त रहेको असीमित दिव्य ऊर्जाको साकार र निराकार स्वरूप हुनुहुन्छ  । यिनै देवी देवताको एकल स्वरूपलाई अद्र्ध नारिश्वर भनिन्छ । अथर्व वेदमा भनिएको छ, ओम असि अर्धङग,, अर्थात् भगवान शिव र माता शक्तिको वा पार्वतीको एकल स्वरूप नै ओंकार स्वरूप परमात्मा हुनुहुन्छ । संसारका प्राणीहरूको जीवन चक्र परमात्माको यसै ब्रह्माण्डीय चेतनाको गति सँगै परिवर्तन शिल हुन्छ । देवीको नौ वटा स्वरूप शैलपुत्री, ब्रहृमचारिणी,चन्द्र घण्टा, कुष्माण्डा, स्कन्द माता, कात्यायिनी, कालरात्रि, महागौरी,र सिद्धि दात्री गरी नौ वटा देवीको मूर्ति वा स्वरूप नै यस संसारको सृष्टि अर्थात् सृजन,पालन पोषण अर्थात् संरक्षण र विनाश अर्थात् पतन वा मृत्युको कारण स्वरूप हुन । प्राणीहरूले जानेर होस् वा न जानेर होस्, जीवन चक्र संग अनवरत रुपमा शिव र शक्ति सँग नै जोडिएका हुन्छन् । कुनै मूर्ति वा प्रतीकमा विश्वास न गर्ने मानिसहरूले पनि ईश्वरको अविनाशी र निराकार रूपलाई आफ्नो हृदयमा आत्मसात गरेका हुन्छन्, भने ईश्वरको साकार स्वरूपको साक्षात्कार गर्ने मानिसहरूले आफ्नो मन, वचन र कर्म लाई हृदयदेखि नै ईश्वरको भक्तिमा लगाई रहेका भेटिन्छन् । कैयौं साधक, ऋषि, मनिषी र योगीहरुले आफ्नो जीवनको ध्येय ईश्वर प्राप्ति नै राखेर जीवन पर्यन्त जिउ मा खरानी घसी, घर, परिवार, सम्पत्ति सबै परित्याग गरी परमात्मा प्राप्तिमा अहोरात्र लागि रहेका भेटिन्छन् । ईश्वरप्रति अविश्वास गर्ने र भौतिकतामा विश्वास गर्ने मानिसहरुको लागि ईश्वरको प्राप्ति गर्ने विचार कठिन लाग्न सक्दछ । ईश्वर प्राप्ति गर्ने चाहना भएको मानिसले सर्वप्रथम आफ्नो अहंकारलाई परित्याग गर्नु जरुरी हुन्छ । काम, क्रोध, लोभ, मोह ,छल, प्रपञ्च, रिस ,राग, घृणा, विद्वेष, मान, अपमान, आदि इत्यादि जस्ता मानवीय स्वभाव वा विशेषतालाई परित्याग गरी मानिस ईश्वरको प्रेममा शरणागत भएपछि मात्र ईश्वरको कृपा पात्र बन्न सक्छ । त्यसै कारणले ईश्वरलाई प्राप्त गर्नु भौतिक वस्तु प्राप्त गर्नुभन्दा अत्यन्त कठिन मानिन्छ। ईश्वरको अनुभूति आफू ईश्वर झैँ बनेपछि मात्र गर्न सकिन्छ। त्यसै कारणले ऋषिमुनिहरुले शिवोहम शिवोहम जप्दै शिव जस्तै बनेका र ईश्वरको ध्यानमा लागेका भेटिन्छन् । भक्तिका थुप्रै बाटाहरू छन्। जुनसुकै बाटो अपनाउँदा पनि ईश्वरको प्राप्ति गर्न सकिन्छ। ईश्वरको प्राप्ति ईश्वरकै इच्छाअनुसार सम्भव हुन्छ । त्यसमा मानिसले हतार गरेर केही हुँदैन ।
दुर्गा सप्तशती ग्रन्थमा भगवती माता दुर्गाको ईश्वरीय विभूतिको वर्णन गरिएको छ। भगवतीलाई प्रसन्न पारेपछि मानिसले आफ्नो जीवनको सबै उद्देश्य लाई प्राप्त गर्न सक्छ । तर ईश्वर को अनुभूति कुनै व्यापारिक वस्तु प्राप्त गरेको अनुभूतिभन्दा फरक किसिमको हुन्छ । यसलाई कुनै नास्तिक व्यक्तिले बुझ्न असम्भव हुन्छ । ईश्वर साकार होस् वा निराकार होस् सबै उर्जाको असीमित रुप र शक्ति सँग सम्बन्धित छ । रामको भक्ति गर्दा राममा बिलिन हुनु, राधाकृष्णको भक्ति गर्दा राधाकृष्णमा विलिन हुनु, शिवको भक्ति गर्दा शिवशक्तिमा विलिन हुनु, जगतकी धात्री पराम्बा भगवती दुर्गा, काली, लक्ष्मी, सरस्वतीको भक्ति गर्दा देवीको स्वरूपमा आफूलाई विलिन गर्नु नै ईश्वरत्व प्राप्तिको नयाँ आयाम हो। दुर्गा सप्तशती ग्रन्थमा राजा सुरथ र वैश्य समाधि आफ्नो जीवनबाट दिकदार लागेर जङ्गलमा भौतारिएर हिँडिराखेको अवस्था मेधा नाम गरेका ऋषिसँग जम्का भेट हुन पुग्दछ जहाँ उनले प्राणीहरूले दुःख र सुखको अनुभूति गर्ने कुरो देवीको मायाबाट हुन्छ भन्ने कुरा थाहा पाउँदछन् । यो संसार मायाले व्याप्त छ ।
मायाको अहंकारमा रहुन्जेलसम्म मानिसले जीवनमा शान्ति, सुख र समृद्धि प्राप्त गर्न सक्दैन। यो दैवी विधान हो। राजा सुरथ सँगै समाधि नाम गरेका वैश्य पनि आफ्नो जीवनबाट निराश भएर मेधा ऋषिको शरणमा पुगेका हुन्छन् । राजा सुरथ आफ्नो राज्य गुमाएका हुन्छन् भने वैश्य आफ्नो घरपरिवारबाट निकालिएका हुन्छन् । तर पनि उनीहरूलाई आफ्नो घर, परिवार, सम्पत्ति र नातागोताप्रति अगाध माया र स्नेह हुन्छ । उनीहरूले आफ्नो सर्वस्व गुमिसकेको अवस्थामा पनि त्यसको बारेमा चिन्ता गरिरहँदा मेधा ऋषिले उनलाई भगवती दुर्गाको उपासना गर्न उपदेश दिन्छन् । त्यसै अनुसार राजा सुरथ र वैश्य समाधि दुवै जना मिलेर नदीमा स्नान गरी विरक्त भावले नदीको किनारामा गएर देवीको मूर्ति निर्माण गरी सारदीय नवरात्रको मुहुर्तमा देवीको कठिन जप र पूजा गरेपछि भगवती दुर्गाको सानिध्य र दर्शन प्राप्त हुन्छ तथा उनीहरुले आफ्नो मनले चिताएका कुराहरु देवी दुर्गालाई विनति गरेपछि भगवती सिद्धिदात्रीले तथास्तु भनेपछि उनीहरूको मनोकांक्षा पूर्ण हुन्छ  । वैश्यले मोक्ष प्राप्त गर्दछन् तथा सांसारिक बन्धनबाट मुक्त हुन्छन् भने राजा सुरथले अखण्ड साम्राज्य प्राप्त गर्ने आकांक्षा राखेको हुनाले अर्को जन्ममा शावर्णी नाम गरेका मनु भएर जन्मिने र सम्पुर्ण संसारको राजा हुने वरदान प्राप्त गर्दछन् ।
सप्तशती ग्रन्थमा देवीको नौवटा स्वरूपको वर्णन गरिएको छ । देवीको यही नौवटा स्वरूपको नौ दिनसम्म पूजा गरिन्छ । धार्मिक ग्रन्थहरुमा वर्णन गरिएका मन्त्रहरू, तन्त्रहरु, जपहरू तथा विभिन्न किसिमका विधि विधानहरुको प्रयोग गरी भक्ति र आराधनामा जुटेका प्राणीहरूले अनेकौं किसिमको व्रत, उपवास, दान, पुण्य, हवन गरी निराहार बसी वा अल्पहार बसी देवीको भक्तिभावले पूजन हवन र ध्यान गरेमा अवश्य देवीको कृपा प्राप्त हुन्छ र देवीसँग सायुज्यता प्राप्त हुन्छ । अखिल ब्रह्माण्डमा देवीको शक्ति सधैं प्रवाहित भइरहन्छ । देवीको माया शक्तिले नै मानिसलाई काम, क्रोध, लोभ, मोह, अहंकार, ईष्र्या, द्वेष, छल कपट, हिंसा इत्यादिमा लगाई राखेका हुन्छन् । मायामा फसेका प्राणीहरू बारम्बार जन्म लिई रहनु पर्ने हुन्छ । ८४ लाख योनीबाट प्राणीलाई छुटकारा पाउनु कठिन हुन्छ । तसर्थ ईश्वर प्राप्तिको बाटोमा लागेपछि मात्र ८४ लाख योनीबाट मुक्ति प्राप्त हुन्छ भने मानिस अनन्तकालसम्म ईश्वरीय ऊर्जाको अभिन्न अङ्ग भएर ईश्वरमा ईश्वरमा समाहित भइरहन्छन। ईश्वरीय चेतनासँग जोडिएपछि जन्म र मृत्यु को बन्धनबाट मानिसले छुटकारा पाउँछ । यही नै सारदीय नवरात्र दुर्गा पूजाको रहस्य हो र महत्व पनि हो । दानवराज महिषासुर राक्षस भएर पनि देवीसँग शत्रुता र द्वेष राखेर विरोध भक्ति गरेको हुनाले देवीले उनलाई मोक्ष प्रदान गरेकी थिइन् । भक्ति पनि अनेकौं किसिमको हुन्छ । रावणको भक्ति रामप्रतिको विरोधभक्ति थियो । रावणले पनि जन्म र मृत्युको जीवनबाट मोक्ष प्राप्त गर्यो । प्रहलादका बुवा हिरणयक सिपुको भगवान विष्णुसँग विरोध भक्ति थियो । त्यही विरोधभक्तिले हिरण्य कश्यपलाई भगवानको नजिक पु¥यायो र प्रहलादको आह्वानमा भगवान विष्णुले नरसिंह रुप धारण गरी हिरण्यक सिपुलाई मोक्ष प्रदान गरेको थियो। ईश्वरीय लीलाको सौन्दर्य र रहस्यलाई नास्तिकहरूले बुझ्न सक्दैन। त्यस कारणले र ईश्वरीय चेतना र रहस्यमा विश्वास गर्नेहरुले ईश्वर प्राप्तिको मार्गमा लागि रहनु पर्दछ र यही नै हरेक प्राणीको जीवनको एउटा प्रमुख लक्ष्य हुनु पर्दछ ।
कोही कोही मानिसहरू भगवानलाई सम्झिँदा अनौठो रुपमा सुनाइरहेका भेटिन्छन्। भगवान फोटोमा हुँदैन। मूर्तिमा हुँदैन । काठमा हुँदैन । ढुङ्गोमा हुँदैन । जुन कुरो देखिँदैन त्यो भगवान हुँदैन, यस किसिमको विभिन्न किसिमका तर्कहरु र कुतर्कहरु संसारमा उत्पन्न भइरहेका देखिन्छन् र मानिस आफ्नो जीवनको अमूल्य उर्जालाई खेर फाली रहेका हुन सक्दछन् । जन्मौ जन्मका कर्म फलको कारण र प्रभावले मानिस त्यसै अनुसारको संसार विनिर्माण गरेको हुन्छ यसबाट मानिसले आफ्नो दैविक दैहिक र भौतिक दुःख र कष्टलाई बिर्सेर ईश्वरप्रति तथा मानवताप्रति सकारात्मक विचार राखेर मानवीय भावनाले ओतप्रोत भएर लागेमा मात्र ईश्वर तत्वलाई बुझ्न सक्दछन्। भगवान ईश्वर अथवा देवीका स्वरूपहरू जुनसुकै रुपमा भेटाउन सक्नु हुन्छ त्यो चेतनालाई बुझ्ने चुम्बक तपाईंसँग हुनुपर्दछ । तपाईं को मन भित्र भगवानको वास हुनुपर्दछ । सप्तशती ग्रन्थमा भनिएको छ, या देवी सर्वभूतेसु शक्ति रुपेन संस्थिताह नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः, अर्थात् जुन देवी यो संसारमा सबै प्राणीहरूको शरीरमा शक्तिको रुपमा स्थित हुनुहुन्छ त्यस देवी शक्तिलाई म प्रणाम गर्दछु प्रणाम गर्दछु प्रणाम गर्दछु। त्यस्तै स्कन्द पुराणको मूर्ति रहस्यमा देवीको शक्तिको बारेमा यसरी भनिएको छ
………….सर्व रूप मयी देवी सर्वम देवी मयम जगत
अतोहम विश्वरुपा त्वाम नमामि परमेश्वरीम………… अर्थात्….. देवी सर्वरुप मयी हुनुहुन्छ र यो सम्पूर्ण जगत नै देवीको स्वरुप हो ,तसर्थ म उनी विश्व रुपा परमेश्वरी लाई नमस्कार गर्दछु ।

Author

You may also like