प्राकृतिक चिकित्सकहरूले भन्ने गर्दछन् । सब रोगों कि एक दवा, मिट्टी, पानी, धुप, हावा अर्थात् सबै रोगहरूको एउटै रामबाण औषधि हो माटो, पानी, घाम, र हावा । जीवनमा स्वस्थ रहन र निरोगी भई बाँच्नको लागि प्रकृतिसँग नजिक भएका मानिसहरूले राम्रो स्वास्थ्य प्राप्त गर्न सक्दछन् । यसै कारणले अति व्यस्त सहरिया जीवनलाई छाडेर मानिस हरू ग्रामीण क्षेत्रहरूमा तथा पहाडी क्षेत्रहरूमा आएर बसोबास गर्न र स्वास्थ्य लाभ गर्न रुचाइ राखेको पाइन्छ। ब्रह्म मुहुर्तमा उठेर प्रातः भ्रमण गर्ने युवा युवतीहरू लगायत वृद्धवृद्धाहरूलाई प्रात प्रातः भ्रमण गर्दा खेरि अनेकौ किसिमको रोगहरुबाट छुटकारा पाउन सक्ने प्रबल सम्भावना हुन्छ। शरीरमा ताजगी र स्फूर्ति आउँछ, तथा मनमा सकारात्मक विचारहरू तरंगित भएर समाजलाई उत्प्रेरणा दिन सक्ने ठुलाठुला कामहरू गर्न हौसला प्राप्त हुन्छ । खान पानमा पनि प्रकृतिबाट प्राप्त स्वच्छ पानी, स्वच्छ माटो, स्वच्छ हावा र स्वच्छ घामले मानिसलाई त के कुरा जीवजन्तुहरु तथा चराचुरुङ्गीहरू समेतलाई खुसी पूर्वक बाँच्न र रमाउन सघाँउदछ । तर प्रकृतिको नजिक भएर जीवनयापन गर्ने तथा बाँच्न सक्ने ग्रामीण परिवेशका मानिसहरूलाई समेत वातावरण प्रदूषण र जलवायु संकटको समस्याले पीरोलिरहेको पिरोली रहेको यथार्थ हाम्रो समक्ष छर्लङ्ग छ । अति औद्योगिकरण भएको सहरिया समाजले सुविधाभोगी जीवन पद्धति अपनाउँदा चारैतिर प्राकृतिक संकट, वातावरणीय संकट, जलवायु संकट, ग्लोबल वार्मिङ जस्ता प्राकृतिक प्रतिकूलताको वातावरणीय असन्तुलनको अवस्थाले सर्वत्र चिन्ता डर र त्रासको अवस्था सिर्जना हुन थालेको छ। संसार लाई प्रकृतिले चलाउँछ भन्ने विचार र दर्शन को परिप्रेक्ष्यमा हेर्दा प्रकृतिले मानिसलाई बनाउछ र बिगार्छ भन्ने कुरा आफ्नो ठाउँमा सही छ।
प्रकृति अनुकूल भए भने मानिसलाई पनि जीवनयापन गर्ने देखि अन्य सबै कुराहरुमा सुविधा हुन्छ। स्वच्छ र सफा पानी उपभोग गर्न पाउनु मानिसको मौलिक अधिकारभित्र पर्दछ तर प्रकृतिले नै रिसाएपछि मौलिक अधिकारको निर्वाध रुपमा प्रयोग गर्नु पनि कठिन हुन्छ। ठूलाठूला उद्योगबाट विसर्जित प्रदूषित रासायनिक पदार्थहरुको समिश्रणले नदीनाला प्रदूषित बन्दैछ । खेतहरु मरुभूमिकरण हुँदैछ। वनजङ्गल मासिँदै छन। नयाँ वनजङ्गल हुर्काउन र वृक्षारोपण गर्न कठिनाइ भइरहेको छ । देशको अर्थतन्त्र वातावरण अनुकूल नहुँदा अर्थतन्त्र घोप्टिएर ध्वस्त हुने अवस्था निर्माण हुन सक्दछ । अनेकौं किसिमका गैसिय प्रदूषणको कारणले गर्दा हावा विशाक्त बन्दै गइरहेको छ । दमका रोगीहरु, मुटुका बिरामीहरु, रक्तचापका बिरामीहरू, मधुमेहका बिरामीहरू को सङ्ख्या दिनप्रतिदिन बढ्दैछ। उद्योगहरूबाट निर्मित कन्फेक्सनरीज जस्ता उत्पादनहरू स्वास्थ्यको अनुकूल हुन नसकेको गुनासाहरू पटकपटक समाचारका छापाहरूमा आइरहन्छ। हरियो साग सब्जी देखि लिएर दुध र दुग्धबाट निर्मित खाद्यान्न पदार्थहरू झन् मानिसको स्वास्थ्यको प्रतिकूल भएको पनि यदाकदा खबरहरू सुनिन्छ ।खाद्यान्न पदार्थहरूमा मिसावटको कारणले गर्दा पनि मानिसहरूको स्वास्थ्य जोखिममा परेको छ ।
तेलमा मिसावट, घिउमा मिसावट, बिस्कुटमा मिसावट, मिठाईमा मिसावट, आटामा मिसावट, चामलमा मिसावट, दालमा मिसावट जस्ता खबरहरू सुनेर तथा पढेर आम उपभोक्ताहरु आफ्नो पुरपुरोमा हात राख्न बाध्य हुन्छन्। धन पनि गुमाउने स्वास्थ्य पनि गुमाउने बजार व्यवस्थाले गर्दा करोडौंको सङ्ख्यामा मानिस हरू दिगदारीको अनुभव गरिरहेको पाइन्छन् ।उपभोक्तालाई न्यायनिसाफ दिने संस्थाको कमी त छ नै तर प्रकृति नै मानिसमाथि क्रोधित भएपछि कसको जोर चल्छ र। मानिस विज्ञानमाथि दक्षता हासिल गरिसक्दा पनि मानिसले मानिसको लागि सुरक्षित तरिकाले शान्तिपूर्वक जीवन बाँच्ने वातावरण निर्माण गर्न सकेका छैनन् सहरको फोहर गाउँमा आउँछ । गाउँका मानिस बिरामी पर्छन् गाउँका मानिस उपचार पाउन सक्दैनन् । गाउँका मानिस अल्पायुमै मृत्यु को मुखमा जान्छन् त्यसलाई कसले हेर्ने। ग्रामीण क्षेत्रहरूमा सुविधाजनक अस्पताल र चिकित्सक को अभाव सर्वविधित नै छ। दुई चार घण्टाको बाटो हिँडेर पनि मानिस अस्पताल धाउने ठाउँ त नेपालमा कति छन् कति गोजीमा पैसा नहुँदा अस्पतालले बिरामीलाई नै बन्दकी बनाएर पैसा असुल गरेको पनि देखिन्छ। सहरमा सबै किसिमको सुविधा भएर पनि स्वच्छ हावा स्वच्छ पानी स्वच्छ र शान्त वातावरण पाउन मानिसलाई धौधौ परेको छ। यही कारणले सहरमा बसोबास गर्ने ठूलाठूला मानिस हरू ग्रामीण क्षेत्रहरूमा र पहाडी क्षेत्रहरूमा फारमहाउस बनाएर पनि स्वास्थ्य लाभ गरेको देखिन्छ। तर यस्तो सुविधा सबैलाई प्राप्त हुन गाह्रो छ ।
उच्च उपभोगको अवस्थामा पुगेका व्यक्ति समाज र संस्थाहरूलाई निश्चित रुपमा रुपैयाँ पैसाको कमी हुँदैन। तर उपचार पाउनुभन्दा रोगको जन्म नै हुन नदिनु ठूलो कुरो हो। यो कुरा प्रकृतिको नजिक भएर बाँच्ने प्राणीलाई मात्र थाहा हुन्छ। दुनियाका धनी र शक्तिशाली भनाउँदा देशहरूले आफ्नो देशलाई तथा आफ्नो देशका सिमानाहरूलाई विदेशी शत्रुहरूबाट जोगाउन अभेद्य किल्ला जस्तो बनाएका पनि छन् । ती शक्तिशाली देशहरूले आफ्नो देशमा परमाणु बम बाट आक्रमण भएमा त्यसबाट कसरी देशलाई जोगाउने भन्ने कुरासम्मको पनि प्रतिरक्षा प्रणाली को विकास गरिसकेका छन् तर अचम्मको कुरो के छ भने मानिसको आक्रमणबाट त देशलाई जोगाउने तर प्राकृतिक आक्रमणबाट प्राकृतिक संकटबाट प्राकृतिक विभीषिकाबाट देशलाई र देशका आम नागरिकहरूलाई जोगाउन नसक्ने कस्तो विडम्बना। बाढी आउँदा अमेरिकामा ठूलो क्षति हुने चीनमा ठूलो क्षति हुने भारतमा ठूलो क्षति हुने तर बाढी नै आउन नदिने गरी कुनै पनि शक्तिशाली देशले पूर्णरुपमा आफ्नो देशलाई सुरक्षित बनाउन सकेका देखिँदैनन्।
अत्याधिक मात्रामा रासायनिक पदार्थ र ग्यासीय पदार्थ हरू वातावरणमा मिसिदा पृथ्वीको वातावरण हरेक वर्ष तातिँदै गइरहेको छ। धरतीको तापक्रम लगातार रूपमा भरिरहँदा ग्लेसियर हरू फुट्ने विस्फोट हुने नयाँ नयाँ हिमतालहरू बन्ने र पहाड तथा पहाडका चट्टानहरु फुटेर बाढी पहिरो जस्ता समस्या हरू सृजना हुने जस्ता घटना हरू सामान्य भइसकेको छ ।
धरतीको तातिँदै गइरहेकोले वातावरणलाई साम्य पाउन पार्न विश्वका वातावरणविदहरुले गरेका प्रयासहरु अहिलेसम्म अपुग छ।खास गरेर वातावरणीय संकटलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा विभिन्न देशका सरकार प्रमुख हरू बीच नै माता भिन्नता रहेको छ। सामान्य व्यवहारअनुसार जसले बढी फोहर गर्छ उसले नै सफा गर्ने खर्च पनि बहन गर्नुपर्दछ । जसले बढी क्षति गर्दछ उसले नै बढी मात्रामा क्षतिपूर्ति पनि गर्नुपर्दछ। यस अर्थमा विश्वका ठूलाठूला शक्तिशाली देशहरुले बढीभन्दा बढी मात्रामा वस्तु र सेवाहरू उत्पादन गरेर बढीभन्दा बढी मात्रामा धन कमाउने लोभ लालचले गर्दा प्राकृतिक संसाधनहरुलाई बढी मात्रामा दुरुपयोग गरिरहेको छ जसले गर्दा वनजङ्गलको आकार खुम्चिँदै छ। आकाशमाथिको ओजोन लेयर फुट्दैछ जसले गर्दा अन्तरिक्षबाट आउने हानिकारक विषालु ग्याँसहरू धर्तीसँग प्रत्यक्ष रुपमा ठोकिन पुग्छ जसको असार मानव जातिले भोग्नु परिरहेको छ।। वायुमण्डल तातिँदा समुद्रमा सुनामी आउँछ ।
वायुमण्डल तातिँदा जलवाष्प निर्माण हुन सक्दैन। समयमा मनसुनी पानी नपर्दा सुखा र खडेरीले किसानहरूको जीवन नर्क तुल्य बनाउँछ। गरिब देश हरू र विकासशील देश हरू अहिलेसम्म संयमित रूपमा नै प्राकृतिक साधनहरूको विदोहन गरेको पाइएको छ र वातावरणीय सन्तुलन जोगाउनमा गरिब देशहरूको ठूलो योगदान रहेको छ । नेपालको वनजङ्गलले विश्वको वातावरण सन्तुलन ठूलो सहयोग पु¥याइरहेको छ । तर विश्वका शक्तिशाली देशहरुले सृजना गरेको र उत्सर्जन गरेको परमानविक विस्फोटहरु को कारणले सृजना भइरहेको उत्पातहरूलाई कसले व्यहोर्ने त्यो समस्या टड्कारो छ । नेपाल आफ्नो आफ्नै भरमा नेपालभित्रका प्राकृतिक संकटहरुलाई थेग्न गाह्रो छ। नेपालले जोगाइरहेको वातावरणीय सन्तुलन वापत प्राप्त हुने अनुदान हरू धनी देशहरुले नेपाललाई तिर्न गाह्रो मानिरहेको छ। यस्तो अवस्थामा धनी देश हरु सच्चिनु पर्दछ इमान्दार बन्नुपर्दछ। र व्यावहारिक रुपमा विश्वमा देखिएको वातावरणीय संकटलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्दछ। यसो हुन सक्यो भने महामारीबाट पनि मानवजातिलाई जोगाउन सकिन्छ तथा मानिसहरूको बाँच्ने उमेर को क्षमतालाई पनि बढाउन सकिन्छ। र अनेकौं किसिमको स्वास्थ्य समस्याबाट मानव जातिलाई छुटकारा दिलाउन सकिन्छ ।

Author

You may also like