
दमक/ ज्येष्ठ नागरिक संघ दमक नगर समितिले ५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै संस्थाको तेश्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । दमक(८ स्थित संघको कार्यालय हलमा भएको साधारण सभा अध्यक्ष लक्ष्मीप्रसाद थपलियाले तयार गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलाराम बाँस्तोलाको आर्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । साधारण सभाले चालू आर्थिक वर्षका लागि विभिन्न योजना तथा कार्यक्रमहरु पनि अघि सारेको छ ।
साधारण सभामा सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा बासुदेव सापकोटा, गंगाप्रसाद घिमिरे, टिकाराम भट्टराई, मीनादेवी कार्की र १०७ वर्षीया हिमादेवी सिटौला रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक(८ का वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहाल, विशिष्ट अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा ज्येष्ठ आवाज द्वैमासिकका प्रधान सम्पादक पंकज दाहाल, संघका अध्यक्ष लक्ष्मीप्रसाद थपलिया र सल्लाहकार संयोजक रघुनाथ खरेलले नगद सहित अविर टिका लगाइ रुद्राक्षको माला, ढाका टोपी र सम्मान पत्रले सम्मान गरेका हुन् । संघले यस्तो सम्मान वर्षेनी गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष दाहालले ज्येष्ठ नागरिकको जीवनलाई सहज र खुशीपूर्ण बनाउन केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तह सम्मका सरकारहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने साथै सिंगो राज्य संयन्त्रनै ज्येष्ठ नागरिकमैत्री भएर लागी पर्नुपर्ने बताए । वशिष्ट अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य पंकज दाहालले केन्द्र, प्रदेश र जिल्लामा मात्र होइन, पालिका र मातहतका सबै वडाहरुमा ज्येष्ठ नागरिकहरुको अपनत्व हुनेगरी संगठन निर्माण गर्नुपर्ने कार्यलाई अघि बढाउनेगरी पहल भइरहेको बताए । उनले सार्वजनिक यातायातका साधनमा सवारी गर्दा यातायात भाडामा र औषधोपचारमा ५० प्रतिशत छूटको व्यवस्था पूर्ण रुपले व्यवहारमा लागू गर्न सरकारलाई आग्रह गरे ।
अर्का विशिष्ट अतिथि संघका सल्लाहकार संयोजक रघुनाथ खरेलले ज्येष्ठ नागरिक संघ दमकको स्थापना देखि हाल सम्म भएको प्रगति केलाउँदै आगामी दिनमा यसलाई अझै धेरै ज्येष्ठ नागरिकहरुलाई आजीवन सदस्य बनाएर विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष मीना कोइराला र संचालन सचिव गंगाप्रसाद संग्रौलाले गरेका थिए । संघले चालू आ.व.मा नियमित रुपमा साप्ताहिक भजन कीर्तन गर्ने, ज्येष्ठ नागरिक दिवसहरु मनाउने, तिर्थाटन गराउने, अन्तरपुस्ता सीप हस्तान्तरण र अल्जाईमर रोग विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्ने, विभिन्न स्वास्थ्य शिविरहरु संचालन गर्ने र पुस्तकालय स्थापना गर्ने योजनाहरु अघि सार्दै साधारण सभाबाट पारित समेत गरेको छ । साथै रिक्त रहेको कार्यसमिति सदस्य पदमा लक्ष्मीप्रसाद उप्रेतीलाई चयन गर्ने निर्णय पनि गरेको छ ।