दमक । व्यवसायी, उत्पादक तथा उपभोक्तालाई खाद्य प्रविधि तथा गुणस्तरसम्बन्धी जनचेतना जगाउँदै सचेत र सजग गराउन हिंड्नेहरुलाई दक्षता अभिवृद्धिका लागि दमकमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । दमक नगरपालिकाले बजारमा आएका विषादीयुक्त अखाद्य वस्तुहरुको अनुगमनका क्रममा जफत गर्ने र व्यवसायी र उपभोक्तालाई सजग गराउँदै उपभोक्ताको स्वास्थ्यप्रतिको चासो चिन्ताका साथ नियमित रुपमा अनुगमन गरिरहेका बेला दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कृषि तथा पशपंक्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरले सो अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न गरेको हो ।
बजार अनुगमनमा निस्कने जनप्रतिनिधि तथा कर्मचारीलाई यो विषयमा ज्ञान, शीप र क्षमता अभिबृद्धि गर्ने सो अभिमुखीकरणको उद्देश्य रहेको कार्यक्रममा बताइएको छ । सो कार्यक्रमको अध्यक्षता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुष्पलाल राईले गरेका थिए । दमक नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा इलाका प्रशासन कार्यालय प्रमुख चुडामणी चापागाई, दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, दमक उद्योग वाणिज्य संघलगायत विभिन्न उद्यमी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईले आम मानिसको स्वास्थ्यप्रति सबै सचेत रहनुपर्ने बताईन । आफ्नो व्यवसायप्रति बफादार बन्न र विश्वासको वातावरण बनाउन सम्बद्ध सबै व्यवसायलाई आग्रह गरिन । उनले उपभोक्ता समेत यस्ता विषयमा सचेत र सर्तकता रहनुपर्ने औंल्याईन । बिक्रीमा राखिएका वस्तुहरुमा मिति मात्र हेरियो भने पनि गुणस्तरहिन वस्तुबाट जोगिने र खाद्यकै कारण लाग्ने विभिन्न रोगबाट बच्न सकिनेतर्फ सचेत गराईन । उनले भनिन– धेरै ठाउँमा अुनगमन गर्दा अधिकांसले जिम्मेवारी वहन नगरेको पनि पाइएको बताईन । कतिपय ठूला पसलहरुमा विभिन्न कठिनाई, समयअभावले पनि चेक गर्न र छुट्याउन नभ्याएको अवस्थामा कम्तीमा उपभोक्ताले हेर्ने गरियो भने व्यवसायीलाई सचेत गराउन सकिने बताईन । तसर्थ सबैले मर्यादित, व्यवस्थित, सफासुघ्घरमा ध्यान दिन आवश्यक रहेको औंल्याएकी थिईन । सो कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिकाका विषयमा समेत जानकारी गराएका थिए । सो कार्यक्रम बिमला तामाङले सञ्चालन गरेकी थिईन ।
