देश–समाज मुख्य समाचार स्थानीय

मन्त्री दाहालद्वारा दमकमा सडक आयोजनाको भवन उद्घाटन

दमक/ विभिन्न आयोजनाहरुको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल झापाको दमकमा आइपुगेका छन् । दमकमा मन्त्री दाहालले नवनिर्मित सडक आयोजना कार्यालयको भवन उद्घाटन गरे ।
मन्त्री दाहालले पूर्वपश्चिम एसियन हाइबे बिस्तार आयोजनाको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक झापाको नवनिर्मित कार्यालय भवनको विहिबार यहाँ एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सो कार्यक्रमबाटै मन्त्री दाहालले भवनको कम्पाउण्डमा बृक्षारोपण समेत गरेका थिए ।


उद्घाटनका क्रममा मन्त्री दाहालले आयोजनाको काममा ढिलासुस्ती गर्न छुट नभएको बताउदै यो योजनाको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले सडक विस्तारपछि अन्तरदेशीय सडक सञ्जाल झनै उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले सम्बोधनका क्रममा विगत ६ वर्ष भन्दा यो एक वर्षमा पुँजीगत खर्च उच्च रहेको बताए । देशभित्र सडक सञ्जाल विस्तार गर्ने क्रममा लक्षित ९३० किमी भन्दा बढी १२३४ किमी निर्माण भइसकेको बताए ।
दमक र झापाका सडकका सम्बन्धमा उनले प्रतिक्षाको रुपमा रहेको चिसापानी सडक अब चाँडै ठेक्का टेण्डर खुलाएर काम अगाडि बढाउने समेत बनाए । उनले दमक–गौरादह–गौरीगञ्ज रिङरोडका लागि त्यसमा रहेका ११ वटा सडक निर्माणका लागि निर्णय भईसकेकाले जिम्मेवारीपूर्वक त्यसको काम अगाडि बढाउने उल्लेख गरे । यसैगरी दमक ५ नम्बर क्षेत्रका धेरै सडक अझै स्तरोन्नति गर्ने क्रममा रहेको बताउँदै अन्य १, २, ३ र ४ नम्बर क्षेत्रका धेरै सडक कति बनिरहेका र कति बन्ने प्रक्रियामा रहेको बताए । यि सबै काम चाँडै पुरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।


आयोजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशी, एशियाली विकास बैंक (एडीवी) परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरुको सहभागिता रहेको थियो । सडक कार्यालय परिषरमा निर्मित आयोजनाको सो भवन रु ८ करोड ७ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
सो भवन उद्घाटन पछि मन्त्री दाहाल पत्रकार भेटघाट कार्यक्रममा सरिक भए । प्रेस चौतारी नेपाल झापाद्वारा आयोजित सो भेटघाट कार्यक्रममा पत्रकारहरुका जिज्ञासा मेटाएका थिए । इम्बोस्ड नम्बर प्लेटको विषयमा मन्त्री दाहालले २०७३ सालदेखिको ठेक्का प्रक्रियालाई कार्यान्वयन गर्न खोजेको बताए । उक्त ठेक्का आगामी मंसिरमा सकिने र काम नहुँदा पनि भुक्तानी गर्नुपर्ने सम्झौता भएकोले रकम खेल जान नदिने प्रयास गरिएको बताए । उनले एम्बुस्ड नम्बरमा लिपिको कुरा उठेको छ । त्यो विषय त्यति जायज नभएको र विश्व परिवेशमा पनि सबैतिर अन्तर्राष्ट्रिय स्टाण्डर्डमा हुने भएकाले नेपालका लाइसेन्स र पासपोर्टसमेत अंग्रेजीमा रहेको दृष्टान्त प्रस्तुत गरे ।
पत्रकारहरुले एसियन हाइवे निर्माणमा लापरवाही भएको, यात्रुहरुले सास्ती पाएको र दमक नगरभित्रको हाइवे कस्तो बन्छ भन्नेमा अन्योल भएको प्रश्नको उत्तरको जिज्ञासा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मेटाएका थिए । उनले अन्तर्राष्ट्रिय स्तरका सडक निर्माण हेरेर अहिले देशभरका सडक निर्माण भईरहेको बताए । मेची पारिपट्टिका हाइवे जुन स्टाण्डर्डबाट बनिएका छन सोही मापदण्डका आधारमा एसियन हाइवे बनिरहेको उल्लेख गरे । उनले सुरुमा सडक निर्माणमा कमजोरी रहेको स्वीकार गर्दै अब आम नागरिकलाई सहज हुने गरी सुधार गरेर लैजाने बताए । सुरुमा नजानेर सडक जथाभावी भत्काइएको तर अब त्यसलाई एकातिर सकेर मात्र अर्कोतिर बनाउने रणनीति लिइएको बताए । जैसीले दमकमा कस्तो सडक बन्ने भन्ने सन्दर्भमा छाएको अन्योलतालाई मेटाउन भिडियो बनाएर गाडी कुदाएर देखाउन आयोजना प्रमुखलाई निर्देशन समेत दिए । उनले भने ओभरब्रीज केही ठाउँमा लामा हुने र केही ठाउँमा छोटा हुने उल्लेख गरे ।
मेची सहकारीमा मन्त्री दाहाल
मेची सहकारीको ३१ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री दाहालले देशको अर्थतन्त्र बलियो बनाउने सहकारीलाई बलियो बनाउनु जरुरी रहेको औंल्याएका छन् । मन्त्री दाहालले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने औल्याए । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्वपूर्ण खम्बा रहेको उनको भनाई थियो । उनले भने, –‘अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न सकिदैंन, त्यसप्रति सरकार गंभीर छ ।’ पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उनको भनाई थियो ।

Author

You may also like