देश–समाज सम्पादकीय

वनवाटिकामा समन्वयात्मक भूमिका आवश्यक

अघिल्लो महिना वैज्ञानिक डा. महाविर पुन दमकमा पुस्तकका ठेली लिएर बेच्न आउँदा उनले दमकमा सबै कुरा भएको तर पर्यटकीय स्थल नभएको उद्घोषसहित एउटा भिडियो सामग्री सामाजिक सञ्जालमा हालेका थिए । तर दमक नगरपालिले त्यो भन्दा धेरै अगाडि नै वडा नं. २ मा आकर्षण पर्यटकीय स्थलको परिकल्पना गरेर वनवाटिका लागि ठूलो लगानी गरिसकेको छ । यता हम्से दुम्से सामुदायिक वनभित्र करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको वनवाटिकाको अस्तित्व संकटमा परेका समाचारहरु बाहिरिरहँदा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा सोही विषयमा संघीय वन तथा वातावरण मन्त्री मा. ऐनबहादुर शाही ठकुरीसँग जग्गा भोगााधिकारका विषयमा छलफलमा रहेका थिए । उनले मन्त्रालयस्तरबाटै निर्णय गरेर दमकको यो सपना पुरा गर्न आग्रह गरेका ह्ुन् ।
उक्त क्षेत्रको विकासमा सामुदायिक वनले उक्त वनबाटिकाकाको विकासका निम्ति छुट्टै योजना बनाएको बताइरहँदा यता नगरपालिका सामुदायिक वनकै अवधारणा अनुसारको काम भईरहेको बताउँछ । यि कुराले स्पष्ट देखाउँछ कि यि दुई निकायबीचको समन्वय र सहकार्यको अभाव छ । करिब ७ करोड रुपैयाँ बराबरको लगानीबाट बनाइएको संरचना अहिले न प्रयोगमा आएको छ, न संरक्षणमा परेको । स्थानीयले बताए अनुसार उक्त क्षेत्र अहिले लागुपदार्थ दूव्र्यसनीको स्थल बन्न पुगेको छ । आशा र उमंगका साथ आकर्षक प्रवेशद्वारबाट सुरु भएको यात्रा केही मिनेटमै निराशामा परिणत हुने अवस्था त्यहाँ छ । भव्य पोखरी कासघारीले पुरिएको छ, संरचना भत्किन थालेको छ र कतै इँटा उखेलेका छन्, कतै प्लास्टर झरेका छन्। भौतिक क्षति त भएको छ नै त्यसमाथ आम दमकबासीको आशालाई निराशामा बदलिदिएको छ ।
योजना र कार्यान्वयनबीचको खाडल, सामुदायिक वन र नगरपालिकाबीचको दोषारोपणको खेलले यो सम्भावना युक्त क्षेत्रलाई खण्डहरमा रूपान्तरण गरेको छ ।
यस्तो संरचना निर्माण गर्नुको उद्देश्य के थियो ? जब संरक्षण, सञ्चालन र दीर्घकालीन योजना थिएन भने यति ठूलो रकम किन खर्च गरियो? यदि सामुदायिक वनको मागमा संरचना बनाइएको हो भने त्यसको स्वामित्व र जिम्मेवारी पनि स्पष्ट नभएको देखिन्छ । आज दमकवासी आफ्नै नगरभित्र रमणीय गन्तव्य नपाएर टाढा टाढा जान बाध्य छन् । तर, आफ्नै ढोकामै रहेको यो गन्तव्य उपेक्षित अवस्थामा माटोमा मिल्न लागेको छ । यो केवल स्थानीय सरकारको असफलता मात्र होइन, सम्पूर्ण नीति निर्माणकर्ताको दृष्टिकोणमै रहेको दोष हो ( संरचना बनाउने बेलामा होहल्ला र उद्घाटनको तामझाम, तर त्यसपछि बेवास्ता र विस्मृति ।
अझै पनि ढिलो भइसकेको छैन । नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै दीर्घकालीन सञ्चालन योजना बनाउनु पर्छ । नगरको तर्फबाट आग्रह र अनुरोध गरेझै मन्त्रालयस्तरबाट निर्णय भए अझ राम्रो भएन भने पनि दुई निकायबीचको एकता, आपसी समझदारी र समन्वयका आधारमा अब उक्त वनबाटिका दमकबासी मात्र नभएर दमक आसपासका बासिन्दाका लागि आकर्षण पर्यटकीय गन्तव्य बन्न जरुरी देखिन्छ । निजी क्षेत्र वा सामाजिक संस्थालाई साझेदारीमा ल्याएर संरचना पुनःसंरचना र सञ्चालन गर्न अब स्थानीय सरकार चुक्नु हुन्न । यस्तो अवसर गुमाउनु केवल आर्थिक क्षति होइन, सामाजिक र पर्यटकीय सम्भावनाको पनि हत्या हुनेछ ।

Author

You may also like