दमक । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आएका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन ।
शनिबार बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत नेताले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले शनिबार बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको एक कार्यक्रमबीच तेस्रो पटक उद्घाटन भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा शुभारम्भ भएको सो अस्पतालको पहिलो पटक बुद्धशान्ति गाउँपालिकाका तत्कालीन अध्यक्ष रमेश भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले उद्घाटन गरेका थिए । उनीहरुले ‘स्वास्थ्य विमा कार्यक्रमसहितको बुद्धशान्ति अस्पताल’ नामक व्यानरमा २०७७ जेठ २२ गते आइतवार उद्घाटन गरेका थिए । जसको आयोजक बुद्धशान्ति गाउँपालिका एवं बुद्धशान्ति अस्पताल व्यवस्थापन समिति रहेको थियो ।
दोस्रो पटक २०८१ असोज १० गते बिहीवार सोही अस्पतालको उद्घाटन गरिएको थियो । भागीरथा बुद्धशान्ति अस्पतालको नाममा जग्गादाता द्वय हरि न्यौपाने तथा कुलप्रसाद न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । आफूहरूकी दिवंगत आमा पूर्वप्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा १५ कट्ठा जग्गा दान गरेका न्यौपाने दाजुभाईद्वारा उद्घाटन गराइएको थियो ।
सोही अस्पताल तेस्रो पटक शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । शुरुमा बुद्धशान्ति अस्पताल नामकरण गरिएकोमा गत वर्ष दाताहरुले उद्घाटन गर्ने बेलामा नाम परिवर्तन गरी भागिरथा बुद्धशान्ति अस्पताल राखिएको थियो । अहिले आएर भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भएको छ ।
शनिबार तेस्रो पटक उद्घाटन भएको सो अस्पतालको विषयमा सामाजिक सञ्जालमा निकै टिकाटिप्पणीसमेत भएको छ । प्रदेश सांसद सविना कट्टेल बजगाईले सामाजिक संजालमा व्यंग्य गरेर लेखेकी छन् ,‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यूसहित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन भएको अहिलेसम्म तीन पटक भयो । अब फेरि पालो प्रधानमन्त्री भएपछि शेरवहादुर देउवाको होला । गज्जव लाग्यो ।’
यसअघि गरिएका उद्घाटन विधिवत नभएको बताइएको छ । गत वर्ष भागीरथा न्यौपानेका छोराहरूले उद्घाटन गर्दा विधिवत् रुपमा उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भएको थिएन । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल अनुमोदन गरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालको शिलालेख अनावरण गरेका छन् भने दोस्रो पटक भागीरथाका छोरा बुहारी कुलप्रसाद न्यौपाने र गंगादेवी न्यौपानेलाई ओलीले रिवन काट्न लगाएका छन् । अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करोडौं मूल्य बराबरको जमिन अस्पताललाई दान गरेपछि भागीरथा मात्र नभएर आफ्नै प्रस्तावमा अस्पतालको नाममा ‘भागीरथा न्यौपाने’ जोडिएको बताए ।
२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ । अस्पतालको स्तरोन्नति र पहिलो तला निर्माणका लागि गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले मागपत्र बुझाएका छन् । ५० करोडको लागतमा सो भवन निर्माण गरिएको थियो ।
आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए । पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।
कार्यविधिअनुसार पालिकाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।
इलाम जिल्लासँग सिमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको यो भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसंख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।
असार २९ गते आज दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको एमाले स्रोतले बताएको छ ।
