देश–समाज समाचार स्थानीय

“विश्वसनीय र मर्यादित पत्रकारिता नगरे पेशानै संकटमा”

विर्तामोड/ पत्रकार आचार संहिता र स्थानीय तहको रिपोर्टिङ सवालबारे झापाका संचारकर्मीहरुले शनिबार झापाको विर्तामोडमा वृहत् अन्तरक्रिया र वहस गरेका छन् । वहसमा सहजकर्ताका रुपमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिताको वर्तमान परिदृष्य, आगामी दिनमा लिनुपर्ने बाटो र चुनौतीहरुका बारेमा भिन्ना भिन्नै प्रस्तुति दिँदै जमेर छलफल गरे । निष्कर्षमा पत्रकारहरुले बद्लिँदो समयको माग र आवश्यकताअनुसार विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता नगरे संकटको सामना गर्नुपर्ने वक्ताहरुले बताएका छन् ।
सहजकर्तामध्येका एक गाउँलेले पत्रकारिता पेशा अहिले जीवन र मरणको अवस्थामा पुगेको बताउँदै यसलाई पत्रकारहरुले सत्य, निष्ठा, मेहनत र इमानदारिताको कसीमा नराखे कि त आफू पेशाबाट पलायन हुनुपर्ने कि त पत्रकारिता पेशानै धराशायी भएर संकटको सामना गर्नुपर्ने अवस्था आउन लागेको धारणा राखे । पत्रकार आचारसंहिताको पालना नगरे पत्रकार र पत्रकारिता प्रतिको विश्वास पनि मर्ने भएकाले पछिल्लो समय सामाजिक सञ्जालले गर्दा बढिरहेको भ्रमलाई चिर्दै अघि बढ्नुपर्ने खाँचो उनले औंल्याए । पत्रकारहरुले मुख्य पेशा पत्रकारितालाई बनाउनुपर्नेमा कतिपय अवस्थामा राजनीतिक दलहरुको पिछलग्गु हुनु र स्थानीय तहको सरकारको परामर्शदाता या अन्य प्रकारको नियुक्ति लिइ काम गर्दा त्यसबाट तटस्थ पत्रकारितामा कमी आएको देखिएको उनको भनाई थियो ।
वरिष्ठ पत्रकार गाउँलेले लोकतन्त्रलाई बलियो पार्ने काममा पत्रकारिता र पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने तर त्यसमा निगरानी गर्ने भन्दा पनि सत्ताको जीहजुरी मात्र गर्ने क्रम बढ्दो देखिएकाले यस्तो प्रवृत्तिबाट आफूहरुलाई मुक्त राखी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए । अबको पत्रकारिता आम पाठक, श्रोता र दर्शकको रुचिअनुसारको खुराक भएको नभए झनै संकटमा पर्ने पनि उनको भनाई थियो ।
अर्का सहजकर्ता प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले पत्रकार र संचारमाध्यमले सूचना प्रविधिको सही सदुपयोग गरेर अघि बढे समस्या नआउने तर पत्रकारिताको नीति, आचारसंहिता र कानुनको उल्लंघन गरे यस
विश्वसनीय…क्षेत्रले विश्वास गुमाउँदै जाने बताए । उनले प्रेस काउन्सिल र पत्रकारहरुबीचको सम्बन्ध सुमधुर राख्न संचारमाध्यमहरुलाई पनि ठीक ढंगले संचालन गर्नुपर्ने कुरामा ध्यान दिन सहभागीहरुको ध्यानाकृष्ट गराए । प्रेस काउन्सिलले संचारमाध्यम र संचारकर्मीहरुको नियमन र अनुगमन गर्ने कार्यले पत्रकारिता र पत्रकारहरुलाईनै सही बाटोमा हिंडाउन मद्दत पु¥याउने उनले बताए । गाउँले र भुसालको कार्यपत्र प्रस्तुतिपछि सहभागी झापाली संचारकर्मीहरुले उठाएका प्रश्नहरुको जवाफ दिइएको थियो ।
कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका संचार तथा सूचना प्रविधि महाशाखा प्रमुख चूडामणि लुइँटेल, प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, पत्रकार महासंघका केन्द्रीय सचिव वैकुण्ठ पराजुली र कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघको पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले पत्रकारिता क्षेत्रको उत्थान र प्रवद्र्धन तथा पत्रकारहरुको हक, हितका बारेमा आ(आफ्ना भनाइहरु राखेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपाने र कार्यक्रम संचालन सचिव राजु पाठकले गरेका थिए ।

Author

You may also like