१४ मुनीका बच्चाको क्यान्सर उपचार निःशुल्क
दमक । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताए । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ । जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बन्द सामुदायिक विद्यालय खुले
दमक । झण्डै एक महिनासम्म बन्द गरिएको सामुदायिक विद्यालयहरु शुक्रबारबाट खुलेका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा गरिएको शैक्षिक हड्तालपछि बन्द भएका विद्यालयहरु आइतवारबाट नियमित रुपमा सञ्चालन हुने भएका छन् । सरकार र शिक्षकबीच ९ बुँदे सहमति भएपछि विद्यालयमा भर्नाको काम अघि बढाइएको विद्यालयका शिक्षकहरु बताउँछन् । आन्दोलन सकिएपछि विद्यालयको नियमित कामहरु अघि बढाइएको उनीहरुको भनाई छ । विद्यालय खुल्ने वित्तिकै विद्यार्थीहरुलाई नतिजा वितरण गर्ने, भर्ना गर्ने र किताव वितरणको काम सुरु गरिएको छ । एक महिनासम्म सुनसान भएका सामुदायिक विद्यालयमा चहलपहल सुरु भएको छ । शुक्रवारसम्म पातलो गरी विद्यार्थीहरु आइरहेको देखिएका छन् । आइतवारदेखि विद्यार्थीका संख्या बढ्ने प्रअ श्रेष्ठको भनाई छ । शुक्रवार देवी माविमा अभिभावकहरु छोराछोरीलाई भर्ना गर्न, किताव लिन आएका थिए । कतिपय अभिभावकहरुले नियमित पठनपाठनबारे अनविज्ञता प्रकट गरेका छन् ।
आगलागीबाट दश लाख क्षति
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको एक फर्निचरमा आगलागी भएको छ । शनिबार राति २ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ५ आमबारी बस्ने घुरन साहको काठ फर्निचरमा अचानक आगलागी भएको हो । आगलागीबाट फर्निचरभित्र रहेको औजार, सखुवाको काठ र फनिचरको तयारी सामानहरु जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
माओवादीको जनजागरण अभियान
दमक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुर–(तराई जनजागरण अभियान सञ्चालन गरेको छ । वैशाख १७ गते बिहिबारको दिन झापाको शिवसताक्षि नगरपालिका वार्ड नं १ को धरमपुर बजारमा अभियान कार्यक्रम जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न किसिमका नृत्य, गीत(संगीत तथा नाटक कलाका रूपमा प्रस्तुति गरेर विभिन्न कार्यक्रम गरी अभियानको शुरूवात गरेका हुन्।
जनतामा जनजागरण ल्याउँदै यो व्यवस्था रक्षा, समृद्धिसँगसँगै जनजीविकामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयहरूमा समेटिएर यो अभियानको थालनी गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवसताक्षि नगरको संयोजनमा भएको कार्यक्रममा धेरै कलाकर्मीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका छन्।
दुई बालकको डुबेर मृत्यु
काठमाडौं । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका –६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए ।
शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।