बिर्तामोड – जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि फागुन महिनासम्मको सवारी कारवाही, राजस्व संकलन, सवारी दुर्घटनाको स्थिति तथा जनचेतनामूलक कार्यक्रमहरूको विवरण सार्वजनिक गरेको छ।
ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा कुल ४०,४५९ वटा सवारी साधनहरू कारबाहीमा परेका छन्। यसबाट सरकारको राजस्वमा रु. २ करोड ६६ लाख ६१ हजार संकलन भएको छ।
उक्त अवधिमा ८७१ वटा सवारी दुर्घटना भएका छन्, जसमा ६६ जनाले ज्यान गुमाएका छन् भने १,३९६ जना घाइते भएका छन्। दुर्घटनाका मुख्य कारणहरू तीव्र गतिमा सवारी चलाउनु, लापरवाही, मदिरा सेवन तथा ट्राफिक नियम उल्लङ्घन रहेको बताइएको छ।
सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले ट्राफिक प्रहरीले ३,७८२ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १,५५,०५३ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गडेस पौडेलले ट्राफिक नियमहरूको पालना गर्न आग्रह गर्दै जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिनुभएको छ।
ट्राफिक प्रहरीले सवारी चालक र यात्रुहरूलाई सडक सुरक्षाका नियमहरूको पालना गर्न तथा हेलमेट, सिटबेल्टको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ। साथै, कुनै पनि सवारी नियम उल्लङ्घन भएमा नजिकको ट्राफिक कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।