काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप उपाधिका लागि बुधबार साँझ (आज) आयोजक नेपाल र म्यानमाबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ । गत ५ फागुनदेखि काठमाडौंमा सुरु प्रतियोगितामा नेपालसहित म्यानमा, कीर्गिस्तान र लेबनान सम्मिलित छन् । जसमा नेपाल र म्यानमा दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन् । गोलअन्तरमा म्यानमा पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेका हुन् ।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गर्दा म्यानमाले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले पाखा लगाएको थियो ।
नेपाल र म्यानमाले लिग चरणको अन्तिमा खेलमा २–२ को बराबरी खेलेका थिए । नेपालले कीर्गिस्तान र लेबनानलाई १–१ गोल गर्दा अरू २ गोल म्यानमाविरुद्ध भएको छ । म्यानमाले १० गोल गर्ने क्रममा लेबनानलाई ३ तथा कीर्गिस्तानलाई ५ गोल ग¥यो । उसले नेपालविरुद्ध थप २ गोल गरेको छ ।
पीडा भुल्ने अवसर
उपाधि जितेर १२ विभिन्न प्रतियोगितामा फाइनलमा पराजित नेपालले पीडामा मलहम लगाउने अवसर हुन सक्छ । नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद ९साग०मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ ।
सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो । २ वर्षअघि सन् २०२२ मा र २०२४ मा घरेलु मैदानमा भएको ‘साफ फाइनल’मा पनि नेपालले बंगालदेशसँग पराजय भोगेको थियो ।
त्यस्तै, तीनपटकको ‘दक्षिण एसियाली खेलकुद (साग)’मा नेपाल दोस्रो स्थानमै खुम्चियो । सन् २०१०, २०१६ र २०१९ को साग खेलकुदको स्वर्ण पदकको भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो ।
यसैगरी, सन् २०१९ मा भारतमा भएको ‘उमन्स हिरो गोल्डकप’मा म्यानमासँग, सन् २०१९ मै कीर्गिस्तानमा भएको ‘नादेज्दाकप’मा उज्वेकिस्तानसँग र गत वर्ष ‘बेस्ट एसियन फुटबल फेडेरेसन ९वाफ० वुमन्स फुटबल प्रतियोगिता’ फाइनलमा जोर्डनसँग पराजित हुँदै नेपाल उपाधिमुखमै पुगेर रित्तो हात फर्कियो । पछिल्लोपटक गत नोभेम्बरमा घरेलु मैदानमै दक्षिण एसियाली फुटबल महासंघ ९साफ० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । सो प्रतियोगिता ‘एएफसी महिला एसियन कप’ र ‘फिफा महिला विश्वकप छनोट’ तयारीस्वरूप थियो ।
फाइनलका लागि दुवैको दाबेदारी
यसैबीच, म्यानमा र नेपाल दुवैले फाइनलका लागि आफूहरू तयार भएको बताएका छन् । ‘प्रि म्याच प्रेस कन्फ्रेन्स’मा मंगलबार दुवै टोलीले ‘फाइनलका लागि आफूहरू तयार रहेको’ बताउँदै ‘उपाधि जित्न उत्साही रहेको’ बताए ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ‘नेपालले सुखद नतिजा दिने’ दाबी गरे । यसअघिका तीन खेलमा नेपालले राम्रो खेल पस्किएकाले पक्कै फाइनल राम्रो हुने उनको विश्वास छ ।
त्यस्तै, कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधिका लागि ‘फाइनलमा फाइट गर्ने’ बताइन् । ‘अहिलेसम्म सबैले राम्रो खेलेको’ बताउँदै उनले ‘अब फाइनलमा राम्रो चुनौती दिएरै छाड्ने’ विश्वास दिलाइन् । म्यानमाका प्रशिक्षक तेत्सुको युकीले पनि फाइनलका लागि आफूहरू तयार भएको बताए । ‘हामी नेपाली मैदानमा देशका निम्ति राम्रो नतिजा पक्सकने आशामा छौं,’ उनले भने ।
हेड टु हेड
नेपाल र म्यानमाबीच चारपटक प्रतिस्पर्धा भएको छ । जसमा म्यानमाले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ । सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’ पहिलो चरणमा नेपाल र म्यानमाले १–१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप लिग चरण’मा नेपाल म्यानमासँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो ।
त्यस्तै, जारी ‘अन्तर्राष्ट्रिय महिला फुटबल’मा नेपालले म्यानमासँग २–२ को बराबरी खेलेको छ । सन् २०२२ मा भारतमा भएको ‘एएफसी महिला एसियन कप’सहित पाँचपटक ‘एसियनकप’ खेलिसकेको अनुभवी म्यानमालाई रोक्नसके नेपालको उपाधिको सम्भावना अधिक रहने विश्लेषण गरिएको छ । फिफा वरीयतामा नेपालभन्दा म्यानमा माथि छ । म्यानमा ५५औं स्थानमा छ भने नेपालको १०१औं स्थान छ ।
नेपाली टिम
दक्षिण एसियाबाहिरका देशबीचको यस भिडन्तमा नेपाललाई घरेलु मैदान र दर्शकको फाइदा छ । स्टार खेलाडी साबित्रा भण्डारी ‘साम्बा’सँगै अन्य देशका लिग खेलिरहेका खेलाडी छन् । व्यावसायिक फुटबल खेल्नका लागि यूएई पुगेकी आबुधावी काउन्ट्रीमा अनुबन्ध रेखा पौडेल र ग्रिसको क्लब महिला ‘ए’ डिभिजन खेलिरहेकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको अनुभवले पनि नेपाली टोली हौसिएको छ । साम्बा पनि फ्रान्सेली क्लबमा आबद्ध छिन् । साम्बाले यस प्रतियोगितामा २ गोल गरेकी छन् । उनले लेबनान र म्यानमाविरुद्ध १–१ गोल गरेकी छन् ।
गोलकिपरमा अन्जना राना मगर र उषानाथ नेपाली टोलीका राम्रा विकल्प हुन् । डिफेन्समा गीता राना, अमृता जैशी, पूजा राना, विमला विक, निशा थोकर अनुभवी छन् । समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईं पनि डिफेन्समै छन् ।
नेपाल मिडफिल्डको खम्बा प्रीति राई हुन् । उनीसँगै सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बुले नेपाली टोली सन्तुलित बनेको छ । मिडफिल्डमा रेनुका हमाल र सुष्मा तामाङ पनि टोलीमा छन् । प्रीति र सबिताको लिग चरणमा निकै उत्कृष्ट खेल प्रदर्शन भएको छ । नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो ।
केही वर्षदेखिको इतिहास पल्टाउने हो भने साम्बाको आक्रामक प्रस्तुतिले नेपालको ‘स्कोरिङ’ उकासिरहेको छ । हार्नै लागेको खेलमा पनि साम्बाले ‘कमब्याक’ गराएको स्थिति छ । लिग चरणमा २–१ ले पछि परेको अवस्थामा म्यानमाविरुद्ध साम्बाले नै गोल गर्दै खेललाई बराबरीमा पु(याएकी थिइन् । अग्रपंक्तिमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल र अनिता केसी पनि उत्तिकै सम्भावना बोकेका खेलाडी हुन् । अग्रपंक्तिमा चन्द्रा भण्डारीसमेत छिन् ।
