दमक/ गत मंगलबार कुटपिटबाट मृत्यु भएका यमु निरौलाको सोमबार सातौं दिनमा कनकाई नदीमा दाहसंस्कार गरिएको छ ।
दमक–३ स्थित मावा खोला किनारमा जग्गा विवादमा एक समूहको कुटपिटबाट निरौलाको हत्या भएको थियो । हत्यामा संलग्न ७ जनालाई परिवारजनले दिएको किटानी जाहेरीमा प्रहरीको भूमिका शंकास्पद भएको भन्दै परिवारबाट ७ दिनसम्म शव उठाइएको थिएन ।
सोर्स र दवावका भरमा मुख्य दोषीलाई जोगाउन खोजिएको आशंकामा थाना अगाडि प्रदर्शन पनि भयो । सबै राजनैतिक दलका नगर नेतृत्वहरुले विज्ञप्ती मार्फत् कसैको दवावमा नपरी निष्पक्ष छानबिनका लागि दबाब बढाए । शुक्रबार दमक नगरपालिकामा मेयर रामकुमार थापाको आव्हानमा बसेको सर्वपक्षीय बैठकले शनिबार १२ बजेसम्मलाई समय सीमा तोकेको थियो । तर कुनै भरपर्दो परिणाम नआएकाले थाना बाहिर नारासहित प्रदर्शन तथा गेट अगाडि टायर बाल्ने काम समेत भएको र भीड आक्रोशित भएको थियो । भित्र प्रहरी प्रशासनसँग भएको कुराकानीमा केही समय माग भएकाले सोमबार १२ बजेसम्मको समयसीमामा पीडित पक्षलाई चित्त बुझ्दो परिणाम नआए १ बजेपछि सशक्त आन्दोलनका लागि भेला हुन प्रदर्शनमा उत्रिएको समूहलाई आब्ह्वान गरिएको थियो ।
बढ्दो आक्रोश र जनदबाबका कारण सोमबार हुने बृहत् प्रदर्शनलाई महसुस गरी सोमबार किटानी जोहरीमा परेका र अन्य स्रोतबाट संलग्न देखिएकाहरुका नाममा जिल्ला अदालतबाट पक्राउ पूर्जी आएको कुरा डिएसपी निशान थापाले मेयर रामकुमार थापा, नेपाली कांग्रेसका क्षेत्रिय अध्यक्ष ढुण्डीराज भण्डारी, माओवादीका नगरअध्यक्ष रवि बस्नेत, राप्रपाका नगरअध्यक्ष हेम सुवेदी, वडा नं. ९ का वडाअध्यक्ष कुवेर भट्टराई तथा पीडित पक्षलगायतको उपस्थितिमा जानकारी गराउँदै निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि शवको पोष्टमार्टम र दाहसंस्कार गर्ने सहमति भई आन्दोलन स्थगित गरिएको थियो । यस अघि आइतबार मेयर रामकुमार थापा, सम्बन्धित वडा नं. ९ का वडाअध्यक्ष कुवेर भट्टराई र पीडित पक्षहरु प्रमुख जिल्ला अधिकारी समक्ष पुगेर सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा घटनाले गम्भिर मोड लिनेसम्मको जानकारी गराए पछि प्रशासनको तर्फबाट हत्याका अभियुक्तहरुलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गरी निष्पक्ष छानविन गरेर कारवाही गर्ने आश्वासन दिइएको थियो ।

Author

You may also like