कात्तिक १५ लक्ष्मीपूजाका दिनबाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन् । पोस्टरमा आना शहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ ।
पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रेकफास्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।
यसअघि यो सिनेमाका तीनवटा पोस्टर सार्वजनिक भएका थिए । जहाँ फर्स्टलुक पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो भने कालो टिसर्ट र लामो कपालमा देखिएका प्रदीप मात्रै प्रस्तुत भएको दोस्रो पोस्टर सार्वजनिक गरेको थियो । जहाँ उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए ।
यस्तै अर्को पोस्टरमा यही सिनेमाबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको थियो ।
उक्त पोस्टरमा सिगार सेवन गरिरहेका उनले प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ र आनासँगै नवनायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतीमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । क्रियटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् ।