काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई मत पाएका छन् । संवैधानिक रुपबाट एक महिनाको समयसीमा रहे पछि प्रधानमन्त्री ओलीले एक साताभित्रै आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट दुई तिहाई बहुमत प्राप्त गर्न सफल भएका हुन् । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णायार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ संख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने संख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले), नेपाली काँग्रेस, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राजनीतिक रुपमा आजको दिन ऐतिहासिक दिन पनि हो । महामानव विश्वेश्वर प्रसाद कोइारालको ४२ स्मृति दिवसकै दिन चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत मागेको दिन पनि ।
यति राम्रो दिनबाट नयाँ संकल्पका साथ नयाँ सोच र भिजनका साथ सम्भवतः प्रधानमन्त्री ओलीको अन्तिम सुनौलो अवसरलाई सदुपयोग गर्ने विषय र सन्दर्भ विषय उठान हुनुपर्नेमा आज पनि उही मानव तस्करको विषयले संघीय संसद् भवन घन्कियो । कोही सांसद् मानव तस्करीको पक्षमा त कोही सांसद बचाउको पक्षमा बोल्ने गरेको देखेपछि सरकारको अवस्था ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तै देखियो । यस अघि भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरिएका प्रपञ्चमा भएको मानव तस्करको विषय र पछिल्लो संघीय संसद् उपसभामुख इन्दिरा रानाले संसद्को लेटरप्याड प्रयोग गरेर कुनै प्रक्रिया नपु¥याई बाहिरका मानिसहरुको नाम राखेर अमेरिका लैजाने पत्र अमेरिकन एम्बेसीमा पुगेको सन्दर्भले आजको ऐतिहासिक पवित्र दिनलाई समेत मानव तस्करको विषयले अपवित्र बनायो नै जुन जनताको अपेक्षा भन्दा बाहिर थियो ।
अंकगणितीय हिसाबले प्रधानमन्त्री मुख्य एजेण्डा विश्वासको मत पाउनेमा द्विविधा रहेन । बहुमत सिद्ध गरेर प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत नपाउने कुरै भएन उनले दुई तिहाई मत प्राप्त गरे । तर त्यो विश्वासको मत किन र केका लागि भनेर आम जनताको चासो र चिन्ता छ ? हिजोका सरकारले के गरेनन र आज ओलीको सरकारलाई विश्वास चाहियो ?
त्यसको फेहरिस्ता पनि प्रधानमन्त्री ओलीले रोष्ट्रमबाट राम्रैसँग बुझाउने प्रयत्न पनि गरे र बीच बीचमा भन्दै गए यति भनेर काफी छ । कुन परिदृश्यमा आफु प्रधानमन्त्री भए त्यसबेला जनताको अवस्था कस्तो थियो । अविरल वर्षाका कारण नेपाली नदीमा तैरिरहेका र पहिरोमा पुरिरहेको अवस्था थियो । हिलो, मैलो अध्यारो असहज अवस्था भन्नेतिर गएनन् तर समग्रमा आर्थिक रुपमा व्याख्या गरेर यहाँका धनाढ्य व्यापारिकको अनुहार चाहुरिएको कुरा स्पष्ट पारे । विद्यूतको बक्यौता नतिरेका व्यापारिको काटिएको लाइन जोड्न ठाडो निर्देशन दिएको र विद्युत प्राधिकरणले नमानेको सन्दर्भमा पनि अल्प अल्प रुपमा कुरा उठाए । तर राज्यको खरबौं रकम कुम्याएर बसेका ति व्यापारीलाई विचरा भन्दै उनीहरुको पक्षपोषणमा उत्रिए । उनले व्यवायीहरू मरिच झैं चाउरिएका भन्दै उद्यमी तथा व्यापारीहरुको संरक्षण गर्ने र उनीहरुलाई देश लुट्न दिईरहने वाहना पनि आजको संसद्बाट खोजियो यो पनि दुःखद पक्ष नै थियो ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक बृद्धिका लागि सरकारले काम गर्ने बताए । प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । ’सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको समेत औंल्याए ।
उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको बताए । ’ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । सरकार स्टन्टबाज भयो । सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवायीहरू मरिच झैं चाउरिएका छन’ प्रधानमन्त्री ओलीले भने,’त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक बृद्धिका लागि लगेको हो ।’
त्यसो जति सरकार बदलिए पनि सरकारको अनुभूति गर्न नपाएका आम नेपालीको खोजी नै भएन । जुन सरकार आए जनताको अनुहार कसैले पढेनन् खाली जनतालाई धनी देखेर करैमात्र तिराउने र सरकारमा बसेर भ्रष्टाचार गर्ने मात्र ध्याउन्नमा लागे । त्यो परिदृश्यबाट जनताले ३ पटक प्रधानमन्त्री भईसकेका ओलीबाट चौथो पटक विश्वासको मत दुई तिहाई लिँदैमा के अपेक्षा गर्ने ? फगत गफ र ठट्यौली बाहेक । महँगीले जनताको ढाड सेकिएको छ । विभिन्न कार्यालयहरुमा कुनै प्रणाली छैन । जसलाई जता जे गर्न मन लाग्छ त्यही गरिरहेको सन्दर्भमा सेवाग्राहीले पाउनुसम्मको दुःख पाएका छन् । यि तमाम समस्यालाई सत्ताबाट र प्रतिपक्षबाट बुझेका ओलीले यो चौथो कार्यकालाई सुनौलो र स्वर्णीम बनाउँलान भन्नेमा पनि शंका गर्ने ठाउँ आजको संसदमा बोलेका भाषणले दियो ।