अन्तर्राष्ट्रिय कला/साहित्य/संस्कृति प्रवास मनोरञ्जन समाचार

रञ्जित गजमेर सम्मानमा अमेरिकामा विशेष कार्यक्रम

अर्जुन प्रधान

अमेरिका, १९ असार /लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
‘रञ्जित गजमेर उत्सवः जिन्दगानी दर्पण छाँया’ सांगीतिक उत्सव सम्पन्न भएको हो । उत्सवमा शरणार्थी हुँदै नेपालबाट अमेरिका आप्रवासनमा गएका भुटानी संगीतकार प्रताप सुब्बाका साथै गायक रविन शर्मा, सुजाता बर्मा, जुना प्रसाई, कवि नवराज पराजुलीसहितका अतिथिमाझ संगीतकार गजमेरलाई विशेष सम्मान गरिएको थियो । उमेरले ८० नाघेका कालजयी गीतका संगीतकार गजमेरको सम्मानमा श्रद्धा जनाउँदै सर्जकहरु भावविह्व बनेका थिए ।
गजमेरको विशिष्ट संगीत यात्रालाई सम्मान गर्न अमेरिकामा रहेका भुटानी नेपालीभाषी समुदायसहित नक्षत्र फाउण्डेसन र मेनुका मेमोरियल फाउण्डेसनको सहकार्य रहेको थियो । गजमेरेले संगीत भरेको पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ (सन् १९८१) हो । त्यसपछि उनका दर्जनौँ नेपाली चलचित्र बजारमा आएका छन् । भारतको दार्जीलिङमा जन्मेहुर्केका गजमेर मुम्बईमा गएर प्रखर भारतीय संगीतकार आरडी बर्मनसँग समेत काम गरेको र गजमेरको मादल बाजाले भारतीय चलचित्रको गीत-संगीतमा समेत गतिलो स्थान पाएको छ ।

ओहायोको सिनसिनाटीमा आयोजित कार्यक्रममा नेपाली तथा भुटानी कलाकारले गजमेरका ‘वीरताको चिनो’, ‘साउने झरीमा’, ‘किन बढ्दैछ धुकधुकी’, ‘लहनाले जुरायो कि’, ‘कुसुमे रुमाल’, ‘झझल्को लिएर’ लगायतका एक दर्जनभन्दा बढी गीतमा प्रत्यक्ष संगीत भरेर गायन प्रस्तुत गरे । उत्सवमा मोलोडी सत्रमा पनि एक दर्जन जति गीतमा संगीत धुन सुनाइएको थियो ।
उत्सवमा कार्यक्रम निर्देशक राम गुरुङ, अर्जुन सुवेदी र गायक किशोर शिवाकोटीले गजमेरले नेपाली गीतसंगीतको प्रवद्र्धनमा पुर्‍याएको योगदान तथा नेपालीपनलाई जोड्न सकेकोबारे प्रकाश पारेका थिए । शिवाकोटीले गजमेरको संगीतमा गीत समेत बाहिर ल्याइसकेका छन् । सो अवसरमा नेपाली कवि नवराज पराजुलीले पनि कवितात्मक प्रस्तुति दिएका थिए ।
यसैबीच, हर्रिसबर्गमा जुलाइ १३ तारिक त्यहास्थित भूटानीनेपाली आर्टिस्ट्स इन सेंट्रल पेन्सभेनियाको आयोजनमा सम्मान कार्यक्रम हुने भएको छ । नक्षत्र फाउण्डेसनले यस अघि पनि भुटानी नेपाली प्रथम गायक प्रताप सुब्बालाई सम्मान गरेको थियो । समाजका हरेक कला, साहित्य र संस्कृतिलाइ संरक्षण गर्ने प्रयासमा शरणार्थी आइडल पनि सम्पन्न गरेको थियो । यसखाले कार्यक्रममा सक्रिय फाउण्डेसनसँग मेनुका मेमोरियल फाउण्डेसन पनि जोडिएर अझ प्रभावकारी कार्यक्रम गर्न सहयोग पुगेकोमा गायक किशोर शिवाकोटीले खुसी व्यक्त गरे ।

You may also like