समाचार

दमक नगरको १ अर्ब ८४ करोड बढीको बजेट प्रस्तुत

दमक/ दमक नगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार प्रस्ताव प्रश्तुत गरेको छ । जसमध्ये चालु खर्च तर्फ रु १ अर्व १ करोड ९४ लाख ९७ हजार ( ५५ ३७ प्रतिशत) र पूँजिगत खर्च तर्फ रु. ८२ करोड १७ लाख ४२ हजार (४४.६३ प्रतिशत) विनियोजन गरिएको जनाईएको छ ।
नगरको तेह्रौं नगरसभामा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने श्रोततर्फ नगरपालिकाको आन्तरिक आयबाट रु २४ करोड ९४ लाख ९२ हजार र दमक अस्पतालको आन्तरिक आयबाट रु ३१ करोड रकम व्यहोरीने छ भने संघीय सरकारको अनुदान ९५ करोड ८९ लाख र प्रदेश सरकारको अनुदान ४ करोड ८ लाख ८८ हजार प्राप्त हुने अनुमानित बजेट प्रश्तुत छ । राजश्व बाँडफाइबाट रु २७ करोड १९ लाख ५९ हजार र जनसहभागिताबाट रु. १ करोड रकम व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।
दमक नगरपालिकाले आइतबार नगरसभामा प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उर्जा र उद्योगलाई प्राथमिकतामा राखिएको छ । नगरले फोहोर ब्यवस्थापन, हरित नगर र भौतिक भूर्वाधार विकास योजनाहरुलाई निरन्तरता दिने भएको छ ।
प्रश्तुत नीति तथा कार्यक्रमा भनिएको छ, ‘घरबाट उत्पादित फोहोरलाई श्रोतमानै वर्गिकरण गर्ने कार्य अनिवार्य लागु गर्दै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना र कारवाही गरिने उल्लेख छ । अव नगरका घरमा उत्पादन भएको फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नु नसके कारवाहीको भागेदार बन्नुपर्नेछ । यस्तै सडक र सार्वजनिक स्थलमा कुनै पनि प्रकारका फोहोर फाल्न पाइने छैन । दमक नगरपालिकाले नगरलाई स्वच्छ र सफा राख्न यो निति ल्याएको नगरसभाको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । दमकबाट उत्पादित फोहोरलाई उर्जा उत्पादन गर्ने कार्यक्रमकालागि दमक २ मा रहेको नेष्ट इरा प्रा.लि.सँग भएको सम्झौता अनुसार कार्यान्वायन गर्न आवश्यक समन्वय र सहकार्य गरि ग्यास तथा मल उत्पादन कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख गरिएको छ ।
यसैगरि नगरसभामा प्रस्ताव गरिएको नीति अन्तर्गत स्वास्थ्य सुधारमा नागरिकका सामान्य अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको छ । नगरमा रहेका १० वटै स्वास्थ्य केन्द्रमा महिनामा न्यूनतम एक दिन चिकित्सक सेवा प्रदान गरिने बताइएको छ । यसैगरि सुत्केरी महिलालाई घर घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गरिने र अस्पतालसम्म जान निशुल्क एम्बुलेन्स सेवा कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ ।
यसैगरि दमक अस्पतालमा दिइदै आएको पोष्टमार्टम सेवालाई निशुल्क गर्ने पनि कार्यक्रम प्रस्तुत भएको छ । यो सुविधा दमक नगरभित्र बसोबास गर्नेहरुले पाउने जनाइएको छ । यस्तै दमक अस्पतालको भीडलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने निति सहितको कार्यक्रम पनि नगरसभामा पेष गरिएको छ । दमक अस्पतालमा फिजियोथेरापी, एचडियू, डायलाइसिस, सीटीस्क्यान सेवाहरुलाई बिस्तार गर्दै लगिने र अपरेशन कक्षलाई मोडुलर अपरेशन थिएटरको रुपमा विकास गरिने भनिएको छ ।
ागामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै दमक नगरपालिकाले शिक्षाकालागी बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा सुधारकालागि एक करोड बजेट छुट्याईएकोमा आगामी आर्थिक वर्षकालागि ४ करोड ८४ लाख ९० हजार बजेट प्रस्तुत गरेको जनाएको छ । यसैगरि अन्तर सरकारी बित्तीय हस्तान्तरण सहित गरि दमकमा शिक्षामा कुल ३७ करोड ६९ लाख ८४ हजार बजेट प्रस्ताव नीति तथा कार्यक्रममा समेटिएको छ ।

Author

You may also like