मुख्य

केन्द्र र प्रदेश १ मा झापाली नेता हावी

दमक/ देशको राष्ट्रिय राजनीतिमा मात्र होइन, प्रदेश नम्वर १ को राजनीतिमा समेत झापाली नेताहरुको भूमिका र नेतृत्व हावी हुने देखिएको छ । केन्द्र सरकार र प्रदेश सरकारको चाबी झापाबाट सांसद भएका नेताहरुको हातमा गएको छ । झापाबाटै निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्र सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रको संयोजक छन् । उनकै पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अकल्पनीय र नाटकीय ढंगले सरकारको नेतृत्वमा पुगेर तेश्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । हाल उनै ओली सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि मस्यौदा समितिको संयोजकको भूमिकामा छन् ।
संसदको दोस्रो शक्तिको रुपमा रहेको नेकपा एमाले समानुपातिक मत परिणाममा भने पहिलो हो । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्णयको आधारमा प्रचण्ड नेतृत्वको सरकार चल्नुपर्ने कुरा भनिरहनु पर्दैन । एक अर्थमा भन्नुपर्दा यो सरकारको चाबी ओलीसँग छ । यस्तै सरकारको समर्थन गर्ने महत्वपूर्ण अर्को सत्ता गठबन्धन दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी । यो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाकै हुन् । लिङ्देनसँग संघीय संसदमा १४ जना सांसद छन् । केपी शर्मा ओलीको पहलमा लिङ्देनसहितको समर्थनमा वर्तमान सरकार गठन भएको हो । सरकार निर्माण गर्न र ढाल्न निर्णायक नभए पनि राप्रपा अध्यक्ष लिङ्देन हाल सत्ता गठबन्धनमध्येको चौथो महत्वपूर्ण घटकका नेता हुन् । संघीय सरकारको चाबी झापामै केन्द्रित भइरहेको बेला प्रदेश १ सरकारको चाबी पनि झापामै केन्द्रित भएको छ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की आगामी प्रदेश १ सरकारका मुख्यमन्त्रीका दाबेदार हुन् । कार्की झापा क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित सांसद हुन् । कार्कीलाई एमालेले सर्वसम्मत रुपमा प्रदेश संसदीय दलको नेता बनाएको छ । प्रदेश १ को प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एमालेका संसदीय दलका नेता कार्कीकै प्रत्यक्ष–अप्रत्यक्ष नेतृत्वमा प्रदेश १ को राजनीति निर्देशित हुने देखिन्छ । कार्की यसअघिको प्रदेशसभामा पनि सदस्य थिए भने प्रदेश १ को पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री समेत हुन् । प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसद रहेको जिल्ला पनि हो । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ छ । यस्तै समानुपातिक कोटाबाट निर्वाचित काँग्रेस प्रदेश १ का सभापति उद्धब थापा पनि झापाकै हुन् । थापा पनि हालै सम्पन्न काँग्रेस संसदीय दलको नेता बनेका छन् । राजनीतिक समीकरण फेरबदल भएमा उनी पनि मुख्यमन्त्रीको सम्भावित दाबेदार हुन् । हाल उनले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा प्रदेशसभामा भूमिका निर्वाह गर्नेछन् ।
थापाले मोरङका केदार कार्कीलाई दोब्बर मतान्तरले पराजित गरेर दलको नेता चयन भएका हुन् । प्रदेश १ संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेससँग २९ जना सांसद छन् । २९ सांसदलाई प्रदेशको प्रभावकारिताको विषयमा र सरकारको खबरदारीमा थापाको योजनामै अगाडि बढ्ने कुरा कसैले नकार्न सक्दैन । प्रदेशसभाको चौथो ठूलो दलको रुपमा आएको राप्रपा नेपाल संसदीय दलका नेतामा पनि झापाकै भक्तिप्रसाद सिटौला चयन भएका छन् । सिटौला झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका हुन् । समानुपातिक मतमा तेस्रो स्थान बनाएको राप्रपाले प्रत्यक्षतर्फ २ सांसद विजयी हुँदा समानुपातिकमा ४ जना विजयी भएका हुन् ।
प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसद रहेको जिल्ला पनि हो । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ छ । झापामा प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र छ भने प्रदेशसभामा १० निर्वाचन क्षेत्र छ । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेदवार प्राथमिकतामा परेको थियो । झापाबाट प्रतिनिधिसभा समानुपातिकतर्फ पनि ६ जना सांसद सिफारिसमा परेका छन् भने प्रदेशसभामा समानुपातिकमा १० जना सिफारिस भएका छन् ।
झापामा समानुपातिकतर्फ प्रतिनिधिसभामा सिफारिस हुनेहरुमा नेपाली काँग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई सिफारिस गरेको थियो । यस्तै नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ को झापाबाट इन्दिरा रानामगर र निशा डाँगीलाई सिफारिस गरेको थियो ।
उता, प्रदेशको समानुपातिकतर्फ एमाले, काँग्रेस र राप्रपाले मात्रै झापाबाट तीन–तीन जनाको नाम सिफारिस गर्दा नेकपा माओवादी केन्द्रले पनि १ जना झापाबाटै सिफारिस गरेको छ । एमालेबाट प्रदेशसभा समानुपातिकमा झापाबाट पर्नेहरुमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाल छन् । एमालेले प्रदेश १ प्रदेशसभामा १५ जना सांसद समानुपातिक तर्फबाट पाएको छ । १२ जना सांसद पाएको कांग्रेसले झापाबाट उद्धब थापा, मोहन महर्जन र लखिकुमारी गणेश सिफारिस गर्दा ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रबाट झापाकै बन्दना झाँगडलाई प्रदेशसभामा सिफारिस गरेको छ । यसैगरी ४ जना समानुपातिक सांसद पाएको राप्रपाबाट प्रदेशसभामा झापाका मात्रै ३ जना परेका छन् । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा छन् ।

Author

You may also like