अन्तर्राष्ट्रिय

अफगानिस्तानमा महँगीले जनजीवन अस्तव्यस्त

गत अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अमेरिकाले अफगान सरकारको सम्पत्ति रोक्का गर्‍यो। यसले अत्यावश्यक वस्तुको भाउ निकै बढ्यो र अगानीको क्रय शक्तिमा गिरावट ल्यायो।
काबुल निवासी नूरजादाले अमेरिकामा अफगानिस्तानको सम्पत्ति रोक्का गरेपछि बजार भाउ ह्वात्तै बढेको बताइन्। यसअघि ५० किलोको पीठोको बोराको मूल्य १‚२०० अफगानी थियो। अहिले बढेर २‚३०० अफगानी भएको छ।​
नूरजादाले अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट बढाएको आरोप लगाइन्। उनले तालिबान सरकारप्रति अमेरिकाको व्यवहारले सामान्य अफगानी नागरिकलाई दैनिक कमाउन पनि वञ्चित गरेको बताइन्।
अफगानिस्तानमा अलकायदा र इस्लामिक स्टेट जस्ता आतंकवादी समूहको उपस्थिति भएको बताउँदै अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको करिब ९.५ अर्ब डलरको सम्पत्ति रोक्का गरेको छ।​

मूल्यवृद्धिका लागि अमेरिका दोषी

तालिबानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले अमेरिकी आरोप अस्वीकार गर्दै अफगानिस्तानको भूमि अमेरिकालगायत कुनै पनि देशविरुद्ध प्रयोग नगरिने बताएका छन्।
नूरजादाको जस्तै चिन्ता काबुल निवासी नाजिरको पनि छ। उनले आकाशिएको मूल्यका लागि अमेरिकालाई दोष दिए। पहिले नै गरिबी भोगिरहेको देशमा अमेरिकाको अमानवीय व्यवहारले आर्थिक अराजकता र गरिबी बढेको उनले आक्रोश व्यक्त गरे।
‘हामीसँग कुनै काम छैन र नियमित आम्दानी छैन’, नाजिरले भने। विगतका महिनामा मैले दैनिक १‚५०० अफगानी कमाउँथेँ‚आजकल ४०० अफगानी कमाउँछु।
राजधानी काबुल लगायत द्वन्द्वग्रस्त देशभर जताततै बाँच्नका लागि संघर्ष गरिरहेका आर्थिक कठिनाइ प्रस्ट देखिन्छ। राजधानी शहरका धेरै बासिन्दाहरू घरका सामान बेच्न बाध्य छन्।
अफगानीहरूका अनुसार अमेरिकाले अफगानी सम्पत्तिमा रोक लगाएकाले तालिबान सरकारले सरकारी कर्मचारीको तलब समेत दिन सकेको छैन। थोरै कमाइले प्रायः सबै अफगानी निराश छन्।
खाद्यान्न पसले व्यापारी सैयद आबिदले भने, ‘अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोक्का गरेकाले दैनिक उपभोग्य वस्तु, विशेषगरी खाद्यान्नको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ।’

You may also like