खेल

विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन्।
आज च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्धन गरेको जानकारी गराएको हो। सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन्। विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन्।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ। च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्धन गरेको हो। विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन्। च्यासलमा अनुबन्धित विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए।
१८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन्। विकास इटालीको चर्चित क्लब एटलान्टाको युथ टिमबाट खेल्दै आएका छन्। यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिकार मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन्। सन् २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन्।

Author

You may also like