समाचार

रतुवा खोलामा आएको बाढीले ७ घर बगायो

दमक, ३ कार्तिक / रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ भने अन्य १७ वटा घर बाढीको चपेटामा परेको छ ।
तीन दिनदेखि परेको अविरल बर्षापछि बस्तीनजिकैको रतुवा खोलामा गएराती १० वजेतिर आएको बाढीले कटान गर्दा त्यहाँका ७ वटा घर वगाउनुका साथै १७ वटा घर जोखिममा पारेको वडाध्यक्ष भिम प्रसाद पौडेलले बताए ।
बाढीबाट घर गुमाउनेमा सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठ रहेका छन् । यसैगरि बाढीले अभिकेशर प्रधान,अजन तिम्सीना, काजी गुरुङ,कृष्ण थापा,मनोज मास्के,उद्धव न्यौपाने ,राजेश किस्कु, बिमल किस्कु, बम बहादुर तामाङ,भारती तामाङ,सीता श्रेष्ठ, दानबहादुर न्यौपाने, लाक्पा शेर्पा, भिम तामाङ,पविमाया तामाङ, गोविन्द श्रेष्ठ र कृष्ण श्रेष्ठको घर जोखिममा रहेको वडाध्यक्ष पौडेलले बताए । बाढीबाट थप क्षति हुन नदिन रातीनै प्रारिम्भक उद्दारका काम गरिएकाले भौतिक रुपमा कुनै मानवीय क्षति भने नगरेको उनले वताए ।
उनका अनुसार खोलामा एक्कासी आएको बाढीले त्यहाँ विछ्याइएको तारजाली वगाउनुका साथै खोलाले बस्तीतर्फ कटान तीव्र बनाएको थियो । खोलाबाट विस्थापित परिवारलाई नजिकैका छिमेकीका घरमा सुरक्षित रुपमा राखिएको उनले जानकारी दिए ।
यसैवीच , आज विहाननै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, नगर प्रमुख रोमनाथ ओलीसहितका अधिकारीले क्षतिग्रस्त बस्तीको निरीक्षण गर्नुहुदै बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन त्तत्काल उद्धार तथा कटान रोकथाम कार्य तीव्र बनाउने जानकारी दिएका थिए ।

You may also like