समाचार

कृषक समूहलाई कारितासको सहयोग

दमक/ कारितास नेपालले झापाको दमक नगरपालिका वडा नम्वर ३ र १० मा गठन गरेका तीन वटा आप्रवासी कृषक समूहहरुलाई २ लाख बराबरका बीउ विजन तथा कृषि सामग्री सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । सोही क्रममा सोमबार दमक–१० को शान्ति आप्रवासन कृषक समूहलाई बीउबिजन तथा कृषि सामग्री उपलब्ध गराएको छ ।
सो बीउविजन र कृषि सामग्री कारितास नेपालका सुरक्षित बैदेशिक रोजगार परियोजनाका परियोजना अधिकृत हिमालय अधिकारीले सो वडाका वडाध्यक्ष बोधराज न्यौपानेको उपस्थितिमा शान्ति टोलमा सो समूहका अध्यक्ष डम्बरसिं लिम्बूलाई हस्तान्तरण गरे । त्यसमा बन्दाकोभी, फूलकोभी, धनियाँ, सिमी, रायो, टमाटर लगायतका तरकारीका बीउबिजन र कृषि सामग्रीमा टनेल, विषादी छर्ने स्प्रे ट्याङ्की, भूइँमा ओछ्याउने मल्चिङ्ग प्लाष्टिक पाँच रोल, हजारी ५ थान लगायत रहेका छन् ।
शान्ति आप्रवासन कृषक समूहले कारितास नेपालबाट आइपिएम तालिम लिइ सोही ठाउँमा १२ कठ्ठा जमिन लिजमा लिएर बेमौसमी तथा मौसमी तरकारी खेती गर्दै आएको छ । समूहमा हाल २० जनाले कृषि कर्म गरिरहेको बताइएको छ ।
त्यसैगरी दमक–३ मा भने यही साता सो स्थानको दुम्से आप्रवासन कृषक समूह र बरगाछी आप्रवासन कृषक समूहलाई उल्लिखित सामानसहित सिंचाइका लागि १÷१ वटा पानी तान्ने मोटर समेत वितरण गरिने परियोजना अधिकृत अधिकारीले जानकारी गराए  । यो परियोजना अन्तर्गत कोरोनाको महामारी शुरु भएयता रोजगारविहीन भएका श्रमिकलाई तथा वैदेशिक रोजगारी गुमाएकाहरुलाई ‘कामका लागि नगद’ कार्यक्रम पनि संचालन गरिसकेको छ । सो कार्यक्रम अन्तर्गत मावा खोलाको दमक–३ र १० वडामा पर्ने खण्डामा तटबन्धन समेत गरेको थियो  । सो तटबन्धनमा ७ लाख रुपैयाँ श्रमिकको ज्यालामा खर्च भएको थियो  ।

Author

You may also like