समाचार

कृषि क्षेत्रको बजेटमा कम प्राथमिकता

गौरादह/झापाको गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुको नजरमा कृषि क्षेत्र पहिलो प्राथमिकतामा पर्न सकेको छैन । गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिकहरू कृषि पेशामा आश्रित भएपनि जनप्रतिनिधिले किसानको मर्म र भावना अनुसार बजेट बिनियोजन भएको छैन ।
खेतिपाती गरेर गुजारा चलाउने किसानहरूको बाहुल्यता रहेपनि स्थानीय सरकारले कृषिमा न्यून मात्रामा बजेट विनियोजन गर्ने गरेका छन् । नगरपालिका भित्रका नागरिकहरु कृषि पेशामा निर्भर रहेपनि स्थानीय सरकारले कृषिमा बजेट भने छर्कने गरेको छ । खेती गर्ने किसानहरूलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्नेमा जनप्रतिनिधिहरूले किसानलाई राहत दिने प्याकेज ल्याउन सकेका छैन । नगरपालिकाबाट विनियोजित हुने नगर स्तरीय योजना तथा वडा कार्यालयको वडा सिलिङ बजेटमा नगरका किसानलाई सम्बोधन गर्नसक्ने कार्यक्रम समावेश गरिएको छैन । स्थानीय सरकारले किसानहरूलाई राहत दिने प्याकेज नीति कार्यक्रममा नसमेट्दा बजेट कम हुन गई किसानहरूले खेती गर्ने समयमा कष्ट झेल्दै आएका छन् । स्थानीय सरकारले वडा कार्यालयहरूलाई मोटो रकम वडा सिलिङ बजेटको रूपमा विनियोजन गर्ने गरेको छ ।
गौरादह नगरपालिकाले प्रायः सबै वडाहरूलाई करोड माथि सिलिङ बजेटको रूपमा विनियोजन गर्ने गरेको छ । वडा कार्यलयहरूले कृषि क्षेत्रमा न्यून बजेट विनियोजन गरी किसानहरूलाई आशा मात्र देखाउने काम गरेका छन् । न्यून बजेटका कारण किसानहरूलाई कुनै कार्यक्रमको भरोसा भएको छैन । वडा कार्यालयहरूले मोटो रकम सडक सञ्जाल विस्तार र उच्चस्तरीय ग्राभेलमा खर्च गर्ने गरेका छन् । जन प्रतिनिधि निर्वाचित भएको ४ वर्ष बितिसक्दा समेत सडक निर्माण र ढुङ्गा बालुवालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा कृषि क्षेत्र ओझेलमा परेको छ । गौरादह नगरपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०७८÷०७९ को वडा सिलिङ बजेटमा १ करोड ६ लाख पाएको छ । वडाले सडक सञ्जाल विस्तार, उच्चस्तरीय ग्राभेल, कल्भर्ट निर्माणमा ६ लाख ६३ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । सडक सञ्जाल बाहेक अन्य क्षेत्रमा लाख भन्दा माथि बजेट विनियोजन गरेको छैन । वडा भित्र रहेका किसानहरूको मुख्य आयस्रोत रहेको कृषि तथा पशुपालनमा १० लाख ६० हजार मात्र बजेट विनियोजन गरेको छ । वडा भित्रका किसानहरूको जीवनस्तर उकास्दै किसानहरूलाई चलायमान बनाउन करोडको हारहारीमा कृषि क्षेत्रमा बजेट विनियोजन गर्नु पर्ने हो । कृषि तथा पशुपालनमा विनियोजन भएको १० लाख ६० हजार रूपैयाँले वडा भित्रका किसानहरूको जीवन स्तर उकास्ने कार्यक्रम ल्याउन संभव छैन । वडाले सडक बत्ती, समाधि स्थल निर्माण, सार्वजनिक धारा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि न्यून बजेट विनियोजन गरेको छ ।

Author

You may also like