समाचार

झापामा एकसाता निषेधाज्ञा

अत्यावश्यक बाहेकका सबै सेवा बन्द

दमक/ झापा जिल्लामा बढ्दो कोरोना संक्रमणको चेक ब्रेक गर्न भन्दै जिल्लाभरि भोलि शनिबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिने भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सबै पालिकामा एकरुपता ल्याउने गरी कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निर्णयअनुसार झापामा खाद्यान्न, तरकारी, फलफूल पसलदेखि अन्य सबै प्रकारका व्यापार व्यवसाय र जिल्लाभित्र चल्ने सार्वजनिक सवारीका साधनहरु समेत बन्द गरिएको छ । अत्यावश्यक बाहेकका सबै व्यापार व्यवसाय जिल्लाभित्रका यातायात बन्द गर्ने निर्णय भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी गराइन् ।
तर पूर्व पश्चिम राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनहरुलाई भने नरोक्ने निर्णय भएको जानकारी गराइएको छ । झापामा बिहीबारसम्ममा विभिन्न १० वटा पालिकाहरुमा कतै पूर्ण त कतै आंशिक निषेधाज्ञा लागू गरिसकिएको थियो । तर निषेधाज्ञामा एकरुपता नभएको र जिल्लाभरिनै कोरोनाको जोखिम बढ्दै गएकाले जिल्लाव्यापी निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी गराएका छन् । उनको अनुसार निषेधाज्ञा लागू गरिएपनि कोरोना विरुद्धको खोप भने प्राथमिकताका साथ पालिकाहरुमा लगाइने छ । त्यसैगरी यही साउन १८ गते झापाको दमकमा रहेका भूटानी शरणार्थीहरुलाई लक्षित गरेर अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन खोप लगाइने पनि बैठकले निर्णय गरेको छ । समतिको निर्णय अनुसार जिल्लाभरिका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा कोरोना विरुद्धको जोनसन खोप ५० देखि ५४ वर्षको उमेर समूहरुका व्यक्तिहरुलाई लगाइने छ । त्यस्तै कोरोना संक्रमित विरामीहरुलाई लक्षित गरी भद्रपुरस्थित मेची अस्पतालमा अविलम्ब अक्सिजन प्लान्ट जडान गर्ने र निजी ठूला अस्पताललाई पनि सो को जडानका लागि अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा सहायक प्रमुख जिला अधिकारी तिलोचन रिमाल, नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रशरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नम्वर गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा, मेची अस्पतालका मेसु डा. टंक प्रसाद बाह्रकोटी, जिल्ला समन्वय समितिका प्रमुख अधिकारी लालबहादुर श्रेष्ठ तथा जिल्लाका सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसअघि झापाको दमक, विर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, गौरादह, शिवसत्ताक्षी नगरपालिका तथा कमल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका गरी जम्मा १० पालिकाहरुमा कतै आंशिक त कतै पूर्णरुपमा लकडाउन गरिएको थियो  । बैठकमा कोरोनाको तेश्रो लहर समेत देखापर्ने सक्ने संभावनालाई मध्यनजर गरी सबै पालिकाहरुलाई आइसोलेसन र होम आइसोलेसन समेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । शुक्रबार र शनिबार भने निषेधाज्ञाका लागि माइकिङ र प्रचार प्रसारको काम गरिने भएको छ । जसबाट जिल्लावासीले आफूलाई चाहिने आवश्यक उपभोग्य बस्तुहरुको भण्डारण गर्न पाउन् ।

झापामा ४४२ को मृत्यु
झापामा पछिल्लो समय कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४२ पुगेको छ । यसअघि मंगलबार झापामा चार जनाको मृत्यु भएको थियो । कोरोनाबाट धेरै मृत्यु हुनेमा विर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा संक्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले बताए । झापामा कोरोना संक्रमितको कूल संख्या २१ हजार ६२० पुगेको छ ।

Author

You may also like