समाचार

नगरपालिकाकाे ध्यानाकर्षण गराउने विपक्षीको तयारी

दमक/ झापाको दमक नगरपालिकाको क्षेत्रभित्र पर्ने काममा देखिएका बेथितिविरुद्ध विपक्षी दलका स्थानीय समितिहरुले नगरपालिका नेतृत्वको ध्यानाकर्षण गराउने भएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी र संघीय लिम्बुुवान मञ्च सहितका दलहरुले नगरपालिकाले गरेका काममा खबरदारीको तयारी गरेका हुन् । माओवादी केन्द्रको नगर समिति कार्यालयमा भएको पाँच पार्टीको भेलाले नगरबासीका समस्याहरुलाई बुँदागत रुपमा छलफल गरी ति समस्या समाधानका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको हो । दलहरुको भेलाले दमक नगरभित्र कोरोना संक्रमण अत्याधिक बढ्नुमा स्थानीय सरकार मातहत रहेको दमक अस्पतालको भिडभाड प्रमुख कारक रहेको ठहर गरेको छ । स्वास्थ्य बिमा अन्तर्गतका सेवाग्राहीलाई अन्य कुनै अस्पतालमा जान नदिई भीड गरेर लाइन लगाउनाले कोरोनाको जोखिम बढाएको काँग्रेस नगर सभापति रोशन विष्टले जानकारी दिए । दैनिक ५÷६ सय नागरिक एकै ठाउँमा जम्मा हुँदा नगर भित्र कोरोना संक्रमण अत्याधिक रुपमा बढेको भन्दै त्यसतर्पm स्थानीय सरकारको ध्यान नगएको विष्टले गुनासो गरे ।
त्यसैगरी स्थानीय सरकारले विकास निर्माणमा काम सन्तुलित र समयोचित ढंगले अघि बढाउन नसकेको भन्दै दमक क्षेत्रमा भएका विकास निर्माणका कामहरुमा आपूmहरुसंग कुनै छलफल नगरेको जनता समाजवादी पार्र्टीका केन्द्रीय सदस्य देउकुमार नेम्वाङले बताए । एकलौटी रुपमा जनप्रतिनिधिहरुका नजिकका मानिसलाई उपभोक्ता समितिमा राखी मनोमानी गरेको भन्दै उनले यसको आलोचना गरिेने सुनाए । त्यस्तै नगरका सामुदायिक विद्यालयहरुमा पनि कामचलाउ व्यवस्थापन समितिले काम गरिरहेको भन्दै नियम अनुसार अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गर्नुपर्ने पनि विपक्षी गठबन्धनले माग गरेको छ । नगरका बेथिति विरुद्ध ध्यानाकर्षण गराउने र त्यसबाट पनि नगरको नेतृत्व नसुध्रिए सशक्त आन्दोलन गर्ने निष्कर्ष निकालिएको बैठकमा सहगागी एक स्थानीय नेताले जानकारी गराए  ।

राप्रपाका माग पूरा गर्ने नगरपालिकाको प्रतिवद्धता
उता झापाको दमक नगरपालिकाले राप्रपा दमक नगर समितिले राखेको विभिन्न ७ बुँदे माग सम्बोधन गर्ने भएको छ । नगर प्रमुख रोमनाथ ओलीले शुक्रबार मागकर्ता राप्रपा दमक नगर समितिका पदाधिकारीहरुलाई नगरपालिकामा बोलाएर ति मागहरु सकेसम्म चाँडै पूरा गरिने जनाएको हो ।
नगरपालिकाको कार्यकक्षमा सो प्रतिबद्धता जनाउँदा उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिमल्सिना, शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपाने, वडा नम्वर ७ का वडाध्यक्ष तथा राप्रपा क्षेत्र नम्वर ५ का अध्यक्ष भिमप्रसाद पौडेलको, दमक अस्पतालका प्रमुख डा. खड्ग लिम्बू र नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईको उपस्थिति थियो भने राप्रपा दमक नगर समितिका तर्फबाट अध्यक्ष हेमराज सुवेदी, सचिव अर्जुनकृष्ण रेग्मी र सहसचिव राजु बुढाथोकीको उपस्थिति रहेको थियो  । नगरपालिका मातहतमा रहेको दमक अस्पतालमा बढेको विरामीको चापलाई व्यवस्थित गर्न नाम दर्ताका चार वटा काउण्टर राखिने, स्वास्थ्य बिमाका विरामीहरुलाई आवश्यकता अनुसार अन्य अस्पतालमा रिफर गरिने, सेवा प्रवाहमा देखिएको झन्झटलाई सकेसम्म कम गर्ने, साउनको पहिलो र भदौको पहिलो साताभित्र पहिलोपटक खोप लगाएर दोश्रो डोज खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लगाउने व्यवस्था गरिने र ५५ वर्षमाथिकालाई पनि खोप लगाइने तयारी गर्ने लगायतका प्रतिवद्धता नगर प्रमुख ओलीले गरेका थिए । दमक–१० मा रहेको जग्गा सम्बन्धी विवाद समाधान गरिने आश्वासन पनि दिइएको छ । राप्रपाले गत असार २८ गते नगरपालिकामा विभिन्न माग र समस्यालाई समेटेर ७ बुँदै ज्ञापन पत्र बुझाएको थियो । जसअनुसार दैवीप्रकोप हुँदा विपत्तिमा परेकालाई तत्काल राहत दिन नगर प्रमुखले एकल निर्णयबाट १० हजार रकम निकासा गर्नसक्ने व्यवस्था रहेको र त्यसबाट प्रारम्भिक रुपमा खाद्यान्न र लत्ताकपडाको व्यवस्था गर्न सकिने जानकारी गराइएको थियो  । त्यस्तै कोरोना महामारीको मारमा परेका होटल, रेष्टुरेण्ट तथा यातायात व्यवसायीलाई लाग्ने व्यवसाय करमा शत प्रतिशत छुट गरिएको जानकारी गराइएको पनि राप्रपा दमक नगर समितिको सचिव अर्जुनकृष्ण रेग्मीले बताए । त्यस्तै दमक अस्पतालबाट प्रदान गरिने सेवालाई कसरी व्यवस्थित गर्न सकिन्छ र त्यसबाट के के सुधार आयो या आएन भनेर त्यसको समय समयमा अनुगमन गर्ने प्रतिवद्धता नगरपालिकाका तर्फबाट जनाइएको पनि उनले बताए ।
त्यसैगरी यदि नगरपालिका भित्रको कुनै विपन्न परिवारले आफ्ना छोराछोरीको सामुदायिक विद्यालयमा बुझाउनुपर्ने शुल्क बुझाउन नसक्ने भएमा नगरपालिकामा सम्पर्क राखे सो शुल्क, पुस्तक र पोशाक समेत निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइने प्रतिवद्धता जनाइएको राप्रपा नगर सचिव रेग्मीले जानकारी गराए ।

You may also like