समाचार

निषेधाज्ञा खुलेसँगै बढ्यो कोरोना

दमक/निषेधाज्ञा खुकुलो बनाएसंगै फेरि कोरोना भाइरसको संक्रमण बढेको छ । सार्वजनिक सवारी साधनका साथै होटल रेष्टुरेन्टहरु समेत खुलाएपछि आवागमन र मानिसहरुको हिंड्डुल बढ्दा कोरोना संक्रमण पनि बढेको हो । यो संक्रमण पूर्वका जिल्लामा मात्र नभइ काठमाडौं उपत्यकामा समेत बढेको पाइएको छ । यसबाट फेरि कडा खालको निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने संभावना बढेर गएको छ ।
अहिले यही असार ३१ गतेसम्मलाई सरकार र स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएको हो । त्यसअघि पूर्वका ४ जिल्ला झापा, मोरङ, सुनसरी र इलाममा सवारी साधनमा पूर्ण रोक लगाइएको थियो भने काठमाडौं उपत्यकामा झनै कडा खालको निषेधाज्ञा जारी गरिएको थियो  । अहिले व्यापार व्यवसाय लगभग दिनभरिनै खुलाइएको छ । आफ्नो दैनिकी चलाउन, काम गर्न र हिंड्डुल गर्न सहज भएपनि कोरोनाको सन्त्रास भने यथावत नै रहेको छ । कोरोनाको संक्रमण दर नघटेपनि सरकारलाई कर तिर्न सहजता बनाउनुपर्ने हुँदा अहिले केही समयका लागि निषेधाज्ञा खुकुलो गरिएको कतिपयको विश्लेषण छ ।

असावधानी मुख्य कारक
कोरोना बढ्नुमा मानिसहरुको असावधानी मुख्य कारक रहेको झापाको दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कुवेर भट्टराईले बताए । उनका अनुसार मास्क नलगाउने, भीडभाडमा जाने, समय समयमा साबुन पानीले हात नधुने या सेनिटाइजर प्रयोग नगर्ने गर्नाले फेरि कोरोना बढ्न थालेको र यो अवस्था देशैभरि रहेको छ । दमकमा भने गत जेठको अन्तिम साता र असारको पहिलो साता कोरोना संक्रमणको दर घटेको थियो । तर त्यसमा परिवर्तन आइ असर १० गतेदेखि भने लगातार कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको तथ्यांक रहेको उनले बताए ।
यो अवस्थाले गर्दा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि फेरि पनि निषेधाज्ञा गनुर््पर्ने अवस्था आउनसक्ने उनको अनुमान छ । यसका साथै अहिले कोरोना संक्रमण देखिनेहरुमा पहिले एकपटक संक्रमित भएकाहरु पनि रहेको उनले बताए । यसकारण सबै मानिसहरुले सावधानी अपनाउनु आवश्यक रहेको उनले प्रष्ट पारे ।

समग्रमा संक्रमण बढ्दो
झापामा बिहीबार महिला ४९ र पुरुष ४४ गरी जम्मा ९३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै एन्टिजेन परीक्षणबाट झापामा थप २२ जनामा कोरोना देखिएको प्रदेश नम्वर सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । त्यसक्रममा दमकमा मात्र बिहीबार १५ महिला र ६ पुरुष गरी जम्मा २१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबारको तथ्यांक हेर्दा कोरोना केही घटेको देखिएपनि बुधबारसम्मको तथ्यांकले कोरोना बढेको नै देखिन्छ । यसबाट बिहीबार कोरोना संक्रमणमा केही कमी आयो भन्दैमा यो दर घटिहाल्ने स्थिति नदेखिएको विश्लेषकहरुले बताएका छन् ।
दमकमा ७७ जनासहित झापामा बुधबार मात्र एकैदिन कूल १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाए अनुसार बुधबार एकैदिन दमकमा मात्रै ७७ जना नयाँ संक्रमित थपिएका थिए । त्यसको अघिल्लो दिन मंगलबार पनि दमकमा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
नगर स्वास्थ्य शाखाका अनुसार पछिल्ला एक साताको अवधिमा संक्रमणमा कमी आउन सकेको छैन । संक्रमणको अवस्था उस्तै छ, यसले दमकमा जोखिममा कमी आउन नसकेको पुष्टि गर्छ– दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले प्रष्ट पारे ।

देशभर २९ को मृत्यु
यसैगरी बिहीबार देशभर १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।

Author

You may also like