दमक/ झापाको दमकमा लायन्स फुड बैंक स्थापना गर्ने तयारी भएको छ । फुड बैंकका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वानका गभर्नर रेवतबहादुर कार्कीसहितको लायन्स पदाधिकारीहरुको उपस्थितिमा शनिबार दमकमा लायन्स फुड बैंक घोषणा गरिएको हो ।
फुड बैंक स्थापनामा दमकका सम्पूर्ण लायन्स क्लवहरुको सहभागिता रहने इम्प्याक्ट लायन्स लिडर ज्ञाननाथ पौड्यालले बताएका छन् । उनका अनुसार फुड बैंकमा शनिबारसम्म ९ हजार केजी चामलको प्रतिबद्धता आएको छ । फुड बैंकमा कम्तिमा पनि १५ हजार केजी चामल राखिने र त्यस्ता चामल खाद्यान्न अभाव झेल्दै आएका अति विपन्न परिवारलाई वितरण गरिने उनले जनाए । फुड बंैकमा लायन्स क्लब अफ झापाले ५ सय केजी चामल फुड बैंकमा उपलब्ध गराउने क्लबका अध्यक्ष अशोक चौधरीले बताए । दमकमा छरिएर रहेका लायन्स क्लबहरुले सामूहिक रक्तदान, फुड बंैक, स्वास्थ्य शिविर, वृक्षारोपण लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दैआएको रिजन चियर पर्सन दिवश राईले बताएका छन् ।