समाचार

द एभरेष्ट सहकारी आफ्नै भवनमा

दमक/झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय बुधबारदेखि दमक–५ बेलडाँगी रोडस्थित आफ्नै भवनमा सरेको छ । यसअघि थानारोडमा रहेको सो सहकारीको नयाँ भवनको एक संक्षिप्त कार्यक्रम गरी रिबन काटेर दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सहकारीकै अध्यक्ष दिपक खरेलले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटनमा सहकारीका संचालक समितिका उपाध्यक्ष रोशन गौतम, सचिव ज्ञाननाथ पौडेल (ज्ञानु), कोषाध्यक्ष यामजी श्रेष्ठ, लेखा संयोजक राजकुमार न्यौपाने तथा सदस्यहरुको विशेष उपस्थिति थियो । २०६८ सालमा स्थापना भएको द एभरेष्ट सहकारीले हाल जिल्लाको केर्खा, सुरुङ्गा, विर्तामोड र बुधबारेमा सेवा केन्द्रहरु समेत संचालन गर्दै आएको छ । सो संस्थाका अध्यक्ष खरेलका अनुसार हाल यस सहकारीको शेयर पुँजी ६ करोड ७६ लाख २१ हजार रुपैयाँ, निक्षेप ५७ करोड २२ लाख ५० हजार ९९५ रुपैयाँ र ऋण लगानी ६० करोड २ लाख ४८ हजार २३० रुपैयाँ रहेको छ । संस्थाले झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, जिल्ला वचत तथा ऋण सहकारी संघ र नेफ्स्कुनमा गरी जम्मा २० लाख ३६ हजार रुपैयाँ लगानी गरेको जानकारी गराइएको छ ।
बुधबार र बिहीबार कार्यालय सार्ने र व्यवस्थापनको काम हुने भएकाले कारोबार बन्द रहने तथा व्यवस्थापनको सो काम सकेपछि शुक्रबारदेखि भने नयाँ भवनबाट कारोबार शुरु हुने अध्यक्ष खरेलले जानकारी गराए ।

Author

You may also like