दमक,ताप्लेजुङको मेरिङ्देन–३ को दोभान बजारका आगलागी पीडितलाई दमक ताप्लेजुङ सम्पर्क मञ्चले राहत वितरण गरेको छ । आगलागी स्थलमा पुगेको दमकको टोलीले पीडित परिवारहरुका लागि २ लाख ११ हजार रुपैयाँ राहत रकम प्रदान गरेको हो ।
मञ्चका अध्यक्ष तथा दमक–७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल, दमक ४ का वडाअध्यक्ष कुमार साम्सोहाङ् लगायतको टोलीले मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेश चोङ्वाङ् तथा प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेलाई राहत रकम प्रदान गरेको मञ्चका सदस्य विष्णु पौडेलले जानकारी दिए ।
पुख्र्यौली थातथलो ताप्लेजुङ भई दमकमा बसोबास गर्दै आएकाहरुको अगुवाईमा मञ्च स्थापना भएको हो । आफ्नो थातथलोमा परेको दुखमा साथ दिन सहयोगीबाट रकम जुटाएर प्रदान गरिएको मञ्चका अध्यक्ष पौडेलले बताए । गत फागुन १८ गते भएको आगलागीबाट ४९ घरका ६३ परिवार विस्थापित भएका थिए ।
आगलागीमा भएको क्षतिको विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो । कार्यदलले सो आगलागीबाट ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको थियो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।