दमक । शुक्रबार बेलुका नेपालमा कोरोना संक्रमणको डरलाग्दो तथ्यांक सार्वजनिक भयो । देशको २ जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या अझै धेरै हुने आशंका बढेको छ ।
उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो भने चितवनमा २ जनामा कोरोना भाइरस परीक्षण पोजेटिभ देखियो ।
संक्रमित रहेको जिल्ला र उनीहरूको उमेर समूहबाहेक थप विस्तृत विवरण सार्वजनिक भएको छैन । उनीहरु अलगअलग स्थानका हुन् या विदेशबाट आएका हुन् मन्त्रालयले खुलाएको छैन ।
नेपालमा फेला परेका संक्रमितहरू विदेशबाट आएकाहरु नै बढी थिए । एक संक्रमितको हकमा विदेशबाट आएका परिवारको सदस्यबाट सरेको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो ।
शुक्रबार सार्वजनिक भएका संक्रमितहरू पहिलो चरणका अर्थात् विदेशबाट आएका हुन् या दोस्रो चरणका परिवार या आफन्तबाट सरेको हो खुलेको छैन । शुक्रबार सार्वजनिक भएको तथ्यांक नेपालमा सार्वजनिक भएको अहिलेसम्मको ठूलो संख्या हो ।
आठ जिल्लामा पुग्यो कोरोना संक्रमण
शुक्रबार सार्वजनिक भएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसअघि १६ संक्रमित पुष्टि भइसकेको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारको क्रममा रहेका छन् ।
उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिँदै आएको छ । नेपालमा हालसम्म कसैको मृत्यु भने भएको छैन ।
शुक्रबारको तथ्यांकपछि कोरोनाको संक्रमण पुगेको जिल्लाको संख्या भने बढेको छ । नेपालका ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।
शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए । काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए । शुक्रबार एकैपटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ ।
संख्याको आधारमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ । कैलालीमा ४ जना संक्रमित छन् । त्यसपछि पर्सामा ३ जना, बागलुङमा २ जना छन् । शुक्रबार नै चितवनमा २ जना संक्रमित फेला परेका छन् । रौतहट र कञ्चनपुरमा १–१ जना संक्रमित फेला परेका छन् ।
प्रदेशका आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ । प्रदेश नम्बर २, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।