समाचार

दमक नगरपालिले ज्याला मजदुरी गर्नेलाई राहत वितरण गर्ने

विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण दमकमा दैनिक ज्याला, मजदुरी गरिखाने वर्गलाई राहत दिन दमक नगरपालिकाले विभिन्न निर्णयहरु गरेको छ ।
दमक नगरपालिकाले विपत् व्यवस्थापन कोष अन्तर्गत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि राहत कोषको स्थापना गरेको छ ।
राहत सामग्री तथा वितरणसम्बन्धी व्यवस्थापन गर्न वडा नं. ३, ५, ६ र ७ का वडाध्यक्ष तथा ३ जना कर्मचारीको कार्यदल निर्माण गरेको छ ।
चैत्र १९ गतेसम्म दाताहरुबाट नगद जम्मा रु ७,५८,९११ र जिन्सी तर्फ चामल ६,३०० के.जी., दाल २८५ के.जी., तेल ११० लि., नुन २२५ के.जी. र चिउरा ४३५ पाकेट नगरपालिकाको राहत कोषमा जम्मा भएको नपाले जनाएको छ ।
कोषमा दमकको हेना कन्स्ट्रक्सनले २ लाख १०० ग्लोबल एजुकेशनल प्रा.लि.ले ५० हजार सहयोग गरेको छ ।
राहत स्वरुप नगद वा जिन्सी जुनसुकै सहयोग उपलब्ध गराउन चाहने व्यक्ति वा संघसंस्थाले आफूखुशी राहत सहयोग वितरण गर्न नपाउने र एकद्वार प्रणाली मार्फत नगरपालिका मार्फत मात्र उपलब्ध गराउन पाउने दमक नगरपालिकाले बताएको छ ।
त्यस्तै नगरपालिकाले दमक वडा नं. ४ स्थित ताराबारीमा ५६ बेडको क्वारेन्टाइन स्थापना गरेकोमा सोलाई बढाई १०० बेड तयार गर्ने भएको छ । मानवीय सेवाभावप्रति संवेदनशील भई पूर्ववत् रुपमा उपचार गर्न आउने नागरिकलाई सेवा प्रदान गरी विद्यमान परिस्थितिलाई सामान्यीकरण तर्फ उन्मुख गराउने कार्यमा सहयोग गर्न दमकस्थित सबै निजी स्वास्थ्य संस्थाहरुलाई दमक नपाले अनुरोध गरेको छ ।
नपाले राहत वितरणका लागि लगत संकलन, डिसइन्फेक्सन स्पे्र तथा कोरोनासम्बन्धी जनचेतनामूलक सन्देशहरु प्रचार प्रसार गरिरहेको बताइएको छ ।

You may also like