अन्तर्राष्ट्रिय

चीनबाट खरिद गरिने स्वास्थ्य उपकरण खरिद सम्झाैता रद्द

१९ चैत, काठमाडौं । चीनबाट खरिद गरी ल्याउने  भनिएकाे स्वास्थ्य उपकरण  सम्झौता रद्द भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै  नेपालकाे स्वास्थ्य सेवा विभागले चिनीया ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन अाेम्नी समूहसँग सम्झौता गरेको थियो ।

सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर साेही सम्झौताअनुसार आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो ।  बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै आलोचना भएपछि उक्त सम्झाैता रद्द गरिएकाे हाे ।
विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । यस्तै, भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो । तर, त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।

You may also like