समाचार

उन्नत बिउको उच्च माग

गाेपाल झापाली
दमक/व्यावसायिक र आधुनिक खेतीतर्फ किसानहरूको आकर्षण बढेसँगै विभिन्न बालीका उन्नत बीउको माग बढेको छ । कृषि उपजको उत्पादकत्व वृद्धिका लागि उन्नत बिउ पहिलो आवश्यकता रहेकाले किसानको खोजीमा यस्ता बिउ पर्न थालेका छन् ।
झापाका किसानहरू संस्थागत रुपमै उन्नत बिउ उत्पादनमा लागेका छन् । झापाको गौरादहमा मात्र करिब एक सय बिगाहा क्षेत्रफलमा उन्नत बिउ उत्पादन हुने गरेको छ । गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको अगुवाइ र समन्वयमा किसानहरूले उन्नत बिउ उत्पादन गर्दै आएका हुन् । सो बिउको प्रशोधन र बजारीकरण समेत सहकारी मार्फत नै हुने गरेको छ । यसका लागि सहकारी संस्थाले आधुनिक प्रविधिबाट विभिन्न कृषि बालीको बीउ विजन प्रशोधन गर्ने उद्योग नै सञ्चालन गरिरहेको छ । बिउबिजन प्रशोधन तथा भण्डारणका मुख्य व्यवस्थापक हेमराज बिस्टका अनुसार सो केन्द्रले २०७२ माघदेखि बीउ विजनको प्रशोधन सुरु गरेको हो । तर अझै पनि उन्नत बिउको माग अधिक रहेका कारण माग पूरा गर्न चुनौती छ । नेपाल सरकारको समेत सहयोगमा झन्डै ३ करोड रुपैयाँको लागतमा बिउबिजन उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएको हो । आधुनिक मेसिन, औजार तथा उपकरणको माध्यमबाट धान, गहुँ, तोरी, मकै र घाँसको बीउ प्रशोधन गर्ने गरिएको व्यवस्थापक बिस्टले जानकारी दिए । सामूहिक खेती र उन्नत बिउ वितरण गरिएका किसानबाट बिउ सङ्कलन हुने गरेको छ ।
यस्तो बिउको माग बढ्दै आएपछि झापा, मोरङ, सुनसरी लगायत जिल्लामा यहाँबाट प्रशोधित बिभिन्न बालीका बिउ पुग्ने गरेका छन् । इलाम, पाँचथर, सप्तरी, सिरहा लगायतका जिल्लाबाट यस्तो बिउको माग आए पनि आपूर्ति गर्न कठिन भइरहेको व्यवस्थापक बिस्टले बताए । प्रशोधन केन्द्रले किसानलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्न अनुदान पनि दिँदै आएको छ । किसानलाई पहिलो पुस्ताको बिउ उपलब्ध गराई त्यसबाट उत्पादिन सबै उत्पादन प्रशोधन केन्द्रले खरिद गर्ने गरेको छ । व्यावसायिक हुन र बिउको माग धान्न सहकारी संस्थाले किसानहरुलाई सामूहिक खेतीमा प्रेरित गर्दै आएको छ । हाल दुई स्थानमा गरी करिब १ बिगाहा जमिनमा सामूहिक खेती हुँदै आएको छ ।
उन्नत बिउको माग वर्षेनी बढिरहेकोले केन्द्रले धान, गहुँ, मकै, तोरी, घाँस, राजमा लगायतका बालीको बिउ प्रशोधन बर्सेनि बढाउँदै लगेको छ । केन्द्रले रन्जित, सर्ना, राधा १२, लल्का वासमती लगायतका जातका धानको बिउ प्रशोधन र विक्री वितरण गर्दै आएको छ । गत वर्ष १२ हजार मन (४०केजी) बिउ प्रशोधन र विक्री गरेकोमा आगामी वर्ष यो परिमाण १६ हजार मन पु¥याउने लक्ष्य छ । यस्तै गत सिजनमा १ सय टन गहुँको बिउ प्रशोधन र बिक्री भएकोमा यस वर्ष १ सय २५ टनको लक्ष्य राखिएको बिस्टले जनाए । किसानलाई २६ सय केजी तोरीको बिउ वितरण गरेको केन्द्रले आगामी वर्षका
उन्नत….लागि ३ टन विउ तयार पार्ने तयारी गरेको छ । यस्तै ३० टन घाँसको बिउ केन्द्र मार्फत किसानले पाएका छन् । आगामी वर्ष यो परिमाण ४५ टन पुग्ने अनुमान छ । यसैगरी राजमा खेतीमा किसानको आकर्षण बढे सँगै केन्द्रले ३ गुणा बढी बिउ तयारीको लक्ष्य राखेको छ । यस वर्षका लागि ५ केजी राजमा बिउ किसानलाई उपलब्ध गराएको केन्द्रले यो परिमाणलाई १५ सय केजी पु¥याउने लक्ष्य बनाएको छ ।

किसानको सहभागिता बढ्दै
उन्नत बिउ उत्पादनमा किसानको सहभागिता पनि बढ्दै गएको छ । दुई स्थानमा गरी एक सय बिगाहामा सामूहिक खेती हुने गरेको छ । ती सामूहिक खेतीबाट केन्द्रको ४० प्रतिशत माग धान्ने गरेको छ भने ८० जनाभन्दा बढी किसानमार्फत थप बिउ उत्पादन भई केन्द्रले सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने गरेको छ । संस्थाद्वारा नमूना एकीकृत खेतीमार्फत गत वर्ष हाइब्रिड जातको मकैको बिउ समेत उत्पादन भएको थियो । देश भरमा ४ मेट्रिक टन उत्पादन भएको रामपुर १० जातको बिउ सो समूहले मात्र दुई टन उत्पादन गरेको एकीकृत खेतीका अध्यक्ष वेधनिधि चापागाईंले जानकारी दिए । यो परिमाणलाई वृद्धि गर्ने गरी यस वर्ष खेती भइरहेको उनले जनाए । धानवाली अनुसन्धान केन्द्रसँग समन्वय गरि व्यावसायिक रुपमा बिउ उत्पादनको काम समेत भइरहेको उनले जनाएका छन् । सो नमूना एकीकृत खेतीमा ७४ परिवारले ८० विगाहा जमिनमा संयुक्त रुपमा खेती गर्दै आएका छन् । यो स्थान सरकारले छनौट गरेको एक सय पर्यटकीय गन्तव्यहरू मध्ये कृषि पर्यटन क्षेत्रको रुपमा सूचीकृत भएको छ । यहाँ बर्सेनि सयौँ अध्ययन अवलोकन टोलीहरू देशका अन्य भागबाट आउने गरेका छन् ।

यस वर्ष धान उत्पादन घट्ने
धान उत्पादनका लागि उर्वर रहेको प्रदेश १ मा यस वर्ष आएको बाढी र पहिरोको प्रभाव समग्र उत्पादनमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादनमा गिरावट आउने देखिएको हो । बाढी, डुवान बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो । करिब ५४ लाख टन हाराहारीमा सीमित हुने भएको छ । बाढी पहिरोकै कारण प्रदेश १ मा १० हजार हेक्टर र प्रदेश २ को ७७ हजार हेक्टरको धानबाली प्रभावित भएको थियो । यही वर्ष ‘गरिमा एफ वान हाइब्रिड’ को नाममा वितरण गरिएको नक्कली बीउका कारण ९ जिल्लामा धानको उत्पादन नहुँदको प्रभाव समग्र उत्पादनमा देखिएको हो ।
मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बर्खे बालीका लागि निर्धारण भएको १३ लाख ७१ हजार सात सय ६ हेक्टरमध्ये १३ लाख एक हजार सात सय ६ हेक्टरमा मात्रै धान बाली लगाइएको थियो । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । चालू वर्षमा देशभर औसत रोपाइँ ९५ प्रतिशत थियो । अघिल्लो वर्ष देशभर ९५.३९ प्रतिशतका दरले १३ लाख आठ हजार पाँच सय हेक्टरमा रोपाइँ भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार यो वर्ष उच्च पहाडमा ९७.९३, मध्यपहाडमा ९३ र तराईमा ९५.३३ प्रतिशतले रोपाइँ भएको थियो ।
सरकारी तथ्याङ्कअनुसार समयमा पानी नपर्दा ७० हजार हेक्टरमा भने बर्खे धान लगाइएको थिएन । देशभर धानबालीका लागि १५ लाख ५२ हजार हेक्टर क्षेत्रफल छ । यसमध्ये १३ लाख ७१ हजार सात सय ६ हेक्टरमा बर्खे धानबाली तथा बाँकीमा चैतेधान लगाइन्छ । मन्त्रालय स्रोतकाअनुसार रोपाइँ ढिलो गरी सुरु भएको र समयमा मनसुन नहुँदा सबै ठाउँमा रोपाइँ हुन सकेन । बाढी र पहिरोले लगाएको बाली नष्ट ग¥यो भने केही जिल्लामा नक्कली बीउका कारण उत्पादनमा कमी हुने भएको हो । यसरी धानको उत्पादनमा कमी आउने भएपछि यो वर्ष चामल आयात दरमा समेत वृद्धि हुन सक्ने मन्त्रालय स्रोतले जनाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष कुल एक खर्ब ६० अर्ब ५८ करोडको कृषिजन्य वस्तु आयात हुँदा सबैभन्दा बढी हिस्सा चामलकै छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीको उत्पादन लगत लिने काम सुरु गरेको छ । सङ्घीय संरचनाका कारण जिल्ला कृषि विकास कार्यालय खारेजीमा परेपछि मन्त्रालयले धानको लगत लिन केन्द्रबाटै सात प्रदेशमा सात वटा सङ्कलन टोली परिचालन गरेको छ । टोलीले सङ्कलन गरेको तथ्याङ्कको आधारमा मङ्सिर १५ गतेसम्म प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । लगत सङ्कलनका लागि उपसचिवको संयोजकत्वमा दुई जना अधिकृत रहने गरी टोली परिचालन गरिएको छ ।

Author

You may also like