काठमाडौँ, सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको बताउनुभएको छ ।
भ्रमण पश्चात् नेपालले के–कति उपलब्धी हाँसिल ग¥यो भन्ने विषयमा सञ्चार केन्द्र नेपालले चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको उल्लेख गर्नुभयो ।
मन्त्री बास्कोटाले मंगलबार चिनियाँ राष्ट्रपति सीले नेपालको राजकीय भ्रमण गर्नु नेपालकै इतिहासको ठूलो उपलब्धी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ ।’
मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको बताउनुभयो । यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको उहाँले बताउनुभयो ।
आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा रहेको बताउँदै सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उहाँको धारणा थियो ।
चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बास्कोटाको बुझाई थियो । कार्यक्रममा उहाले भन्नुभयो । कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले महामहिम राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।