समाचार

महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट

काठमाडौं, संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले कडा कारबाही गर्ने भएको छ । महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट छन् ।

नेकपा सचिवालय बैठकले उक्त प्रकरण मिडियामा आएसँगै आकस्मिक बैठक डाकेर तत्काल सभामुख र सांसद पदबाट राजीनामा दिलाउन सुझाएको थियो । तर, महराले गोलमोटल भाषा प्रयोग गरेर सभामुखबाट मात्रै राजीनामा दिएका थिए । उनको राजीनामा पत्रमा आफूले छानबिन प्रक्रियासम्मको लागि मात्रै राजीनामा दिएको भाषा प्रयोग गरेका थिए । पछि, पार्टीभित्रैबाट चौतर्फी विरोध भएपछि उनले सुटुक्क दोस्रो राजीनामा बुझाएका थिए ।

पार्टीले दिएको निर्देशन पालना नगरेको र अटेरी गरेर बसेको भन्दै नेकपाले महरालाई अुनशासनको कारबाही गर्ने भएको छ । महराले सरकारी सुविधा भने फिर्ता गरिसकेका छन् । अहिले उनी सभामुखको सरकारी निवासमै बसेपनि भाडाको घर खोजिरहेका छन् । तर, भनेजस्तो घर भेटाएका छैनन् । कतिपयले त महरालाई कोठा दिनै मुश्किल भयो भनेर पनि टिकाटिप्पणी गरिरहेका छन् ।

You may also like