पर्यटन

सफल पारौँ “नेपाल भ्रमण वर्ष, २०२०”

पुजन खड्का

भक्तपुर, “लाइफ टाइम एक्सपेरियन्स” (जीवनकाल अनुभव) नाराका साथ नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मनाउने तयारी गरिरहेको छ। २९ श्रावण २०७४ मा नेपाल भ्रमण वर्ष, २०२० मनाउने घोषणा गरे संगै आर्थिक वर्ष २०७५ र ०७६ को सरकारको नीति तथा कार्यक्रमले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । शुरुमा २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिएको भए तापनि २०१५ को विनाशकारी महाभूकम्पका कारण केहि हदसम्म आर्थिक स्थिरता तथा पूर्वाधारका कामहरु बढून् भनेर २०२० मा सारिएको हो। नेपालले यसअघि नेपाल भ्रमण वर्ष, १९९८ र नेपाल पर्यटन वर्ष, २०११ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। सन् १९९८ मा नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरे यता नेपालको पर्यटनले सही मार्गदर्शन पाउन थालेको हो। नेपाल भ्रमण वर्ष १९९८ सकिएलगत्तै नेपाल सरकारले सरकारी तथा निजी क्षेत्रको संयुक्त सहभागितामा संचालन हुने गरि नेपाल पर्यटन बोर्डको स्थापना गरेपश्चात मात्र नेपालको वाह्य तथा आन्तरिक पर्यटनले काँचुली फेरेको हो।

नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले लगभग ४ प्रतिशत योगदान गरिरहेको छ भने करिब ६ लाख मानिसलाई रोजगारी सिर्जना गरेको छ। ग्ल्ध्त्इ (विश्व पर्यटन संगठन) का अनुसार एउटा पर्यटक घुम्न निस्किदा त्यसले विभिन्न ११ वटा काममा सहकार्य गरिरहेको हुन्छ जस्तै, खाने, हिड्ने, समान किन्ने, बस्ने, गाइड जस्ता कामले अवसर सिर्जना गरिरहेको हुन्छ। त्यसकारण यो निकै नै महत्वपूर्ण र अबसर सिर्जना गर्ने क्षेत्र हो । यस हिसाबले पर्यटन व्यवसायले नेपालको अर्थतन्त्रमा निकै महत्वपूर्ण भूमिका र योगदान गरि रहेको छ। त्यसैले नेपाल भ्रमण वर्ष २०२० लाई हामी सबैले एउटा अवसरको रुपमा लिनुपर्दछ। यसलाई एक उत्सवका रुपमा मात्र नभई राष्ट्रिय आर्थिक एजेण्डाको रुपमा लिनुपर्छ।
विश्वको पर्यटन विकास दर ६ प्रतिशत मात्र रहेको अवस्थामा नेपालको २० प्रतिशतभन्दा बढी रहेको छ।

तसर्थ यो एउटा उत्सव मात्र होइन यसको माध्यमबाट नेपालको पर्यटनलाई अझ बृहत्, विकास र विस्तार गर्ने अवसर प्राप्त हुनेछ। नेपालमा सन् २०१४ मा ८ लाखको हाराहारीमा पर्यटनको आगमन भएको थियो भने सन् २०१५ मा महाभूकम्पका कारण घटेर ५ लाखको हाराहारीमा पर्यटनको आगमन भएको थियो। सन् २०१६ मा ७ लाख ५० हजार थियो भने २०१८ मा करिब १० लाख पर्यटनको आगमन भएको थियो। यसरी हेर्दा नेपालमा पर्यटन आगमनको संख्या उल्लेख्य वृद्धि भएको पाइदैन। तसर्थ २० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य केहि चुनौतिपूर्ण रहे तापनि असंभव भने पक्कै छैन। यसका लागि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास गर्नुपर्दछ साथै भौतिक पूर्वाधारको स्तरोन्नति गर्दै व्यापक सुधारको जरुरी छ । पर्यटक गन्तव्य स्थलहरुको सौन्दर्यकरण र गुणस्तर वृद्धिमा जोड दिन आवश्यक छ। नेपालमा रहेका पर्यटनका अथाह सम्भावनाहरु प्राकृतिक नदीनाला, हिमाल, पहाडका अलावा धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदाको प्रचारप्रसार गर्नु जरुरी छ।
देश विकाशका लागि नेपाल भ्रमण वर्ष, २०२० एउटा राम्रो अवसर हो। राष्ट्रको लागि मात्र नभई प्रत्येक नेपालीका लागि यसले आर्थिक सम्वृद्धिको आधार सृजना गर्नेछ।

होटल तथा पर्यटन व्यवसायमा लागेकाहरुका लागि राम्रो अवसर प्राप्त हुनेछ। आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज विश्वसामु चिनाउने सुनौलो अवसर नेपालीले प्राप्त गर्नेछन् भने विदेशी भाषा र संस्कृति नजिकैबाट नियालन्ने मौका समेत प्राप्त गर्नेछन्। देशमा छाएको लामो अस्थिरताको थकानपश्चात भर्खरै ब्युँझिएको मुलुकमा पुनर्ताजगी भर्न भ्रमण वर्ष घोषणा आफैँमा असल प्रयत्न हो। तर प्रयत्न मात्र भएर हुँदैन, जिम्मेवार निकायबीच परस्पर समन्वय र प्रभावकारी प्रवर्द्धन पनि आवश्यक हुन्छ। सरकारको प्रयासबाट मात्र यो सफल हुन असंभव छ, त्यसैले प्रत्येक नेपालीले भ्रमण वर्ष, २०२० लाई सफल पार्न आफ्नो तर्फबाट योगदान दिन जरुरी छ।

Author

You may also like