दमक/ पछिल्लो समय दमक बजारमा पसल बेच्ने र पसल नै बन्द गरेर सम्पर्कविहीन हुनेहरुको संख्या बढ्दै गएको छ । दमकको मुख्य बजारका कतिपय घरहरुमा सटर खाली लेखिएका सूचना टाँसिएको पाइन्छ ।
विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँ सलामी लिएर किनबेच हुने गर्थे भने हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् ।
साना व्यापारीदेखि ठूला उद्योगीसम्म अहिलेको अर्थतन्त्रमा रहेका अनेक समस्याले पिरोलिएको दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले बताए । उनले भने ‘दिनभरिमा बोहनी गर्न पनि गाह्रो छ,’ उनी भन्छन्,’ पहिले–पहिले दिनको एक लाखसम्म व्यापार हुने ठाउँ अहिले सुनसानजस्तै छ ।’कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म दिगो गति लिन नसकेको उनको भनाइ छ ।
बजारमा साना साना होटल, ठेला र चिया पसलहरु साथै खाद्यान्नकालागि खोलिएका पसलहरुमा ग्राहक केही संख्यामा छन्, तर लत्ता कपडा, जुत्ता, कस्मेटिकलगायतका पसलहरुमा ग्राहक न्यून छन् दमकका ब्यवसायी पुष्प विष्टले भने ।
यस्तो गुनासो बजारमा धेरैको छ, ‘अहिले व्यापार गरेर बसेकाहरु पनि टिक्न सकिन्छ कि भनेर मात्रै बसेका हुन्’, उनी भन्छन्, ‘दिनभर झिंगा धपाएर बस्नु परेपछि के खाने ?’ बेच्न खोज्दा नबिकेपछि भाडा तिरिरहनुभन्दा सामान निकालेर पसल छोड्नेहरु बढेको दमक बजारका ब्यवसायी भरत चुँडाल बताउँछन् ।
हाइवे आसपासका झट्ट हेर्दा भव्य देखिने धेरै व्यापारिक मलहरू अहिले सुनसान छन् । ग्राहकले भरिने पसलहरुपनि पछिल्लो समय सडक विस्तारका कारण दायाँ वायाँका रुखहरु काटिँदा र सडकको चौडा विस्तार गर्ने क्रममा भत्काईँदा पसलेहरुले घाम र धुलोको मार खेप्नु परेको गुनासो ब्यवसायीले गर्ने गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ
(गोपाल)ले बताए ।
पछिल्लो समय खुलेका पसलअघि ठडाइएका डमीहरु पनि महलमा खाली भइरहेका सटरका साक्षी जस्तो मात्रै बनेको सुनचाँदी ब्यवसायी काँशी खाती बताउँछन् । दमकका मुख्य बजार क्षेत्रमा मात्रै २५÷३० प्रतिशत सटर भाडा वा बिक्रीमा रहेको बताउँछन् । पसल चलाइरहेका अधिकांशजसो व्यवसायीले सावाँ मूल्यसम्म आए
पसल छाड्ने मनाशयमा रहेको उनले बताए । भवन तयार नहुँदै सटर र पसलको भाडा अग्रिम भुक्तानी गरेर बुकिङ लिने विगतको जस्तो अवस्था नरहेको उनको भनाइ छ । एकवर्ष अघिसम्म दर्जनवढी सटरहरु भएको दमकको गोरखा डिपार्टमेन्र्टको भूइँतलाका सटरहरु सबैजसो बन्द भएपछि गोरखा डिपार्टमेन्टको माथिल्लो तलामा रहेको किचन भूँइ तलामा सरेको डिपार्टमेन्टका प्रवन्ध निर्देशक बलराम आचार्यले बताए ।
दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का पछिल्ला दिनमा पसल छाडेर हिँडेपछि सम्पर्कमा नआउने कारणले पसल खाली गराइदिन धेरै निवेदन आउन थालेको बताउँछन् । ‘भाडा नतिरी मान्छे सम्पर्कविहीन भएपछि सटर खाली गराइदिन भन्दै वाणिज्य संघमा आउने घरधनीको संख्या बढेको छ’, उनले भने । ‘बजारमा पैसा छैन, उधारो उठ्दैन, व्यापार पनि सुकेको छ’, उनी भन्छन्, ‘भाडा तिर्न समेत नसक्ने अवस्था छ, यस्तो बेला ऋणमा डुबेका व्यापारीले तनाव झेलिरहनुभन्दा पसल छाड्नु उचित हुने ठानेको बुझिन्छ ।’
पसल चलाउन छाडेर विदेश जाने क्रम बढ्न थालेकाले सरकारले साना व्यवसायीहरुको संरक्षणका लागि सोच्नैपर्ने अवस्था आएको दमक आम्दारोडस्थित ज्ञानकला पुस्तक पसलका सञ्चालक रामप्रसाद उपाध्याय बताउँछन् । ‘बजारमा पैसा छैन, उधारो उठ्दैन, व्यापार पनि सुकेको छ’, उनी भन्छन्, ‘भाडा तिर्न समेत नसक्ने अवस्था छ, यस्तो बेला ऋणमा डुबेका व्यापारीले तनाव झेलिरहनुभन्दा पसल छाड्नु उचित हुने ठानेका छन् ।’ उनको भनाइ छ ।
‘पहिला आम्दानी राम्रै हुने भएकाले महिनाको २०÷३० हजारदेखि माथि भाडा तिर्न समस्या थिएन, अहिले विश्व बजारमा देखिएको मन्दीको असर र ग्राहकको अभावले व्यापार ठप्पप्रायः भएपछि भाडा तिर्न नै सकस भयो’ भन्ने ब्यवसायी धेरै भएको दमक बजारस्थित न्यु फेसन एण्ड व्याग हाउसका प्रोप्राइटर भुमिप्रसाद बाँस्कोटा बताउँछन् । ब्यवसायी गणेश प्रधान भन्छन्– ‘युवाहरु धेरैजसो विदेश गएका छन्, यहाँ रहनेहरुसँग आम्दानी कम छ, महंगीले आकाश छोएको छ, ग्राहक बढे पो व्यापार रहन्छ ।’