दमक । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको तेस्रो संस्करणमा केही युवा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम र राशिद खानले प्रभावशाली प्रदर्शन गर्दै क्रिकेटप्रेमीको ध्यान खिचेका छन्। प्रतियोगितामा उनीहरूको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभाको सम्भावना उजागर गरेको छ।
प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको छ। यसपटक लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।
यस संस्करणमा सर्वाधिक प्रभाव पार्ने खेलाडीमध्ये राहुल यादव अग्रस्थानमा छन्। ट्यालेन्ट हन्टमार्फत छनोट भएर जनकपुर बोल्ट्समा आबद्ध भएका राहुलले सात खेलमा १२ विकेट लिएका छन्। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।
काठमाडौं गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएका थिए। त्यसपछिका दुई खेलमा विकेटविहीन बने पनि पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरेका उनले त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिए। पहिलो सहभागितामै उनको प्रदर्शनले उनलाई गोल्डेन क्यापको बलियो दाबेदारका रूपमा उभ्याएको छ।
बलिङतर्फ चितवन राइनोजका रिजन ढकाल पनि उत्कृष्ट लयमा छन्। उनले हालसम्म पाँच खेलमा ११ विकेट लिएका छन्। प्रतियोगितामा खेलेका प्रत्येक खेलमा विकेट लिन सफल रिजनको प्रदर्शन चितवनका लागि महत्त्वपूर्ण बनेको छ। चितवनले खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ। नेपालका लागि आठ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका रिजनसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवसमेत छ।
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बमले सात खेलमा २४२ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा अग्रस्थान कायम गरेका छन्। उनले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन्। नेपालका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लोकेशले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका छैनन्।
त्यस्तै, काठमाडौं गोर्खाजका राशिद खानले पनि ब्याटिङमा प्रभावशाली प्रदर्शन गरेका छन्। उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन्। नेपालका लागि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका राशिद यस प्रतियोगितामार्फत आफ्नो क्षमता थप प्रमाणित गर्ने प्रयासमा छन्।
एनपीएलका प्रत्येक संस्करणले नयाँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिँदै आएको छ। तेस्रो संस्करणमा पनि युवा खेलाडीले देखाएको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको छ। अब प्लेअफ र त्यसपछिका निर्णायक खेलमा यी खेलाडीले आफ्नो लय कायम राख्न सक्छन् वा सक्दैनन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ।