अर्थ देश–समाज समाचार स्थानीय

भाइटीकाकै दिन परेको असिनापानीले इलामको धानबालीमा क्षति

इलाम । भाइटीकाकै दिन बुधबार दिउँसो परेको असिनापानीले इलाम जिल्लाका विभिन्न स्थानमा पाक्नै लागेको धानबालीमा क्षति पुर्‍याएको छ। धान काटेर भित्र्याउने तयारीमा रहेका किसान असिनापानीका कारण चिन्तित बनेका छन्।
जिल्लाका विभिन्न क्षेत्रमा असिनासहितको वर्षा हुँदा खेतमा पाकेर भित्र्याउन ठिक्क परेको धानबालीमा क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन्। लामो समयको मेहनतपछि बाली भित्र्याउने समयमा अचानक परेको असिनाले किसानको अपेक्षित उत्पादनमा असर पर्ने चिन्ता बढाएको छ।
तिहारको अन्तिम दिन भाइटीका मनाइरहेका बेला परेको प्रतिकूल मौसमले धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई थप समस्यामा पारेको हो।
किसानका अनुसार असिनापानीले अलैँचीलगायत केही बालीलाई राहत पुर्‍याए पनि पाक्न लागेको धानबालीमा भने नोक्सानी भएको छ। विशेषगरी धान भित्र्याउने समयमा परेको असिनाले उत्पादन घट्ने चिन्ता बढाएको छ।
जिल्लाका विभिन्न स्थानमा असिना र वर्षा भएकाले धानबालीमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। कुन क्षेत्रमा कति क्षति भयो भन्ने यकिन विवरण संकलन हुन सकेको छैन।

Author

You may also like