देश–समाज मुख्य समाचार स्थानीय

नेपाली कांग्रेसका दुई महाधिवेशन उद्घाटन हुँदै : समानान्तर अभ्यासले कहाँ पु¥याउँला ?

:– विमल लामिछाने –:
दमक/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन (आज) १८ असोजमा काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ ।
यो महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीमा विधि, पद्धति र नयाँ राजनीतिक संकल्प निर्माण गर्ने थलोका रूपमा अघि बढाइने बताएको छ ।
महाधिवेशनको मूल मन्त्र ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ तय गरेको छ । तर, यो अवस्थासम्म आउँदा काँग्रेस दुईभागमा पूर्ण रुपले विभाजनमा देखिएको छ । एकातिर सभापति गगन थापा नेतृत्वको काँग्रेस महाधिवेशन उद्घाटन गरिरहेको छ भने अर्कोतिर पूर्व सभापतिसमेत रहेका शेरबहादुर देउवा पक्षले अर्को समानान्तर महाधिवेशनको कसरत गरिरहेका छन् ।
करीब आठ दशक लामो ऐतिहासिक पृष्ठभूमि, नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व तथा मुलुकको एक प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक कलहको चपेटामा परेको छ । यतिबेला मुलत नेपाली काँग्रेस वैचारिक ध्रुवीकरण र सांगठनिक संकटबाट गुज्रिरहेको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा पार्टीभित्र देखिएको शक्तिसंघर्ष, गुटगत द्वन्द्व र समानान्तर गतिविधिहरूले यस ऐतिहासिक दलको भविष्य र सांगठनिक सुदृढीकरणमाथि गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ । पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बेलामा देखिएको यो विभाजनले कार्यकर्ता पंक्तिलाई मात्र अन्योलमा पारेको छैन, आम जनतामा पनि गलत सन्देश प्रवाह गरेको छ ।
पार्टीभित्र देखिएको तीव्र असन्तुष्टि, वैचारिक असहमति र संवादहीनताका कारण कांग्रेस औपचारिक रूपमा दुई फरक धारमा विभक्त भएको प्रस्ट देखिएको छ । एकातर्फ सभापति गगन थापा लगायतका युवा तथा परिवर्तनकारी नेताहरूको समूह निर्धारित कार्यतालिका र विधिअनुसार केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारीमा होमिएको छ भने अर्कातर्फ निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै १५औँ महाधिवेशनको घोषणा गर्दै समानान्तर गतिविधिहरूलाई तीव्र पारेको छ । देउवा पक्षले पार्टीका वरिष्ठ नेता शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेर देशका विभिन्न वडा तहमा समानान्तर अधिवेशनहरू सञ्चालन गरिरहेको छ । यसरी देशभर समानान्तर अधिवेशन गर्ने दाबी गरिए पनि यसले पार्टीको सुदृढीकरणभन्दा पनि आन्तरिक कलह र अहंकारको लडाइँलाई मात्र सतहमा ल्याएको छ ।
दुई खेमाबीचको अभ्यासमा सबैभन्दा ठूलो विरोधाभाष र बहसको विषय नेतृत्व चयनको प्रक्रिया बनेको छ । गगन थापा पक्षको नेतृत्वमा भएको परिवर्तनकारी अभ्यास अनुसार जुनसुकै तहका नेता तथा पदाधिकारीहरूले पनि अनिवार्य रूपमा वडा तहबाटै प्रतिस्पर्धा गरेर चुनिएर आउनुपर्ने कडा नियम बसालिएको छ, जसले तल्लो तहका जुझारू कार्यकर्तालाई माथिल्लो तहमा पुग्ने सुवर्ण अवसर
सिर्जना गरेको छ । यसको ठीक विपरीत, देउवा पक्षले भने विधानको परम्परागत व्यवस्थालाई निरन्तरता दिँदै केन्द्रीय पदाधिकारी तथा सदस्यहरू वडाबाट चुनिन नपर्ने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम राखेको छ । यद्यपि, देउवा समूहले १८ देखि २८ वर्षसम्मका युवा र महिलाहरूलाई वडा तहदेखि नै नेतृत्वमा अनिवार्य समेट्ने केही आकर्षक प्रावधानहरू पनि अघि सार्दै आफ्नो आधार बलियो बनाउने रणनीतिक प्रयास गरेको छ ।
पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदलाई महाधिवेशनमार्फत् समाधान गर्ने र लोकतान्त्रिक गणतन्त्र तथा विधिको शासनलाई बलियो बनाउन सबैलाई एकजुट हुन अपिल गरे तापनि, शीर्ष नेतृत्वबीचको व्यक्तिगत अहम् र जिद्दीपनले कांग्रेसको राजनीतिक साखलाई धुमिल बनाउँदै लगेको छ । गत पुसमा भएको भनिएको विशेष महाधिवेशनदेखि नै सुरु भएको यो दूरी १५औँ महाधिवेशन आइपुग्दा पूर्ण रूपमा दुई किनारमा उभिएको छ । दुवै पक्षले आ–आफ्ना अडान नछोड्दा कांग्रेसभित्र वैधानिकता, अधिकार र आधिकारिकताको लडाइँ सतहमा आएको छ, जसले गर्दा पार्टीभित्र वैचारिक स्पष्टताभन्दा पनि गुटगत वर्चस्व स्थापना गर्ने दौड तीव्र भएको छ ।
समग्रमा हेर्दा, नेपाली कांग्रेसको यो १५औँ महाधिवेशन केवल नेतृत्व फेर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई पार्टीको वैचारिक निष्ठा, लोकतान्त्रिक चरित्र र आन्तरिक एकताको कडा परीक्षण बनेको छ ।
यदि पार्टीका शीर्ष नेतृत्वले व्यक्तिगत महत्वाकांक्षा र अहम् त्यागेर समयमै अर्थपूर्ण संवादको ढोका खोल्न सकेनन् भने, यसले इतिहास बोकेको यो लोकतान्त्रिक पार्टीलाई दीर्घकालीन रूपमा गम्भीर क्षतितर्फ धकेल्ने निश्चितप्रायः छ । तसर्थ, तल्लो तहका कार्यकर्ता र आम मतदाताको भावनालाई कदर गर्दै समग्र कांग्रेसलाई एकताबद्ध र बलियो बनाउनु नै आजको काँग्रेसभित्र खड्किएको विषय हो ।
महामन्त्रीका आकांक्षीको लर्को
दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका आकांक्षीको संख्या झण्डै एक दर्जन पुगेको छ । विधानअनुसार दुई महामन्त्रीका लागि वर्तमान पदाधिकारी, सहमहामन्त्री, केन्द्रीय सदस्य तथा प्रदेश तहका नेताहरूले दाबी प्रस्तुत गरिरहेका छन् ।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः सोही पदमा प्रतिस्पर्धाको तयारीमा छन् । उनीहरूसँगै उदयशम्शेर राणा, देवराज चालिसे, जीवन परियार, नैनसिंह महर, रामहरि खतिवडा, मधु आचार्य, आङ्गेलु शेर्पा, अमरसिंह पुन, डिला संग्रौला, प्रकाश रसाइली ‘स्नेही’, डा. सुनिल शर्मा र रञ्जित कर्णलगायतका नेताको नाम आकांक्षीका रूपमा चर्चामा छ । पौडेल र घिमिरेले औपचारिक घोषणा नगरे पनि आन्तरिक तयारी अघि बढाएका छन् । यसबीच नैनसिंह महर, अमरसिंह पुन र डा. सुनिल शर्माले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । महर जिल्ला दौडाहामा छन् भने पुनले पनि संगठनभित्र छलफल तीव्र बनाएका छन् । शर्माले सानेपामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका छन् ।
आकांक्षी बढेसँगै पदाधिकारीको संख्या थपेर व्यवस्थापन गर्ने विषयसमेत कांग्रेसभित्र छलफलमा आएको छ । विधान संशोधनका लागि मस्यौदा समिति गठन भए पनि थपिने पदाधिकारीको संख्या टुंगिएको छैन । हाल कांग्रेसमा सभापति एक, उपसभापति दुई र महामन्त्री दुई जना छन् । सहमहामन्त्रीको संख्या पनि बढाइएको छ । महामन्त्रीसँगै उपसभापति र सहमहामन्त्रीमा समेत दाबी बढेकाले १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पदाधिकारी संरचना र आकांक्षी व्यवस्थापन प्रमुख चुनौतिको विषय बनेको छ ।

Author

You may also like