मुख्य शिक्षा समाचार

शिक्षासँगै विद्यार्थीको स्वस्थ जीवनमा जोड

बाबुराम कार्की
दमक । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने सन्देश दिँदै हिमालय माध्यमिक विद्यालय (हिमावि) ले चार हजारभन्दा बढी विद्यार्थीको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा विद्यालय परिसरमा सुरु गरिएको शिविरले हजारौं विद्यार्थीको दाँत तथा मुख स्वास्थ्य परीक्षण, परामर्श र उपचारको अवसर प्रदान गरेको छ । विद्यालयको यो अभियानलाई विद्यार्थीको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने तथा स्वस्थ विद्यार्थीमार्फत गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उदाहरणीय प्रयासका रूपमा हेरिएको छ ।
हिमालय रोभर÷रेञ्जर स्काउट क्रिउ तथा हिमालय स्काउट ट्रुपको आयोजनामा सञ्चालन भएको शिविरमा पहिलो दिन कक्षा ५ सम्मका करिब ६ सय विद्यार्थीको दन्त परीक्षण गरिएको छ । विद्यालयले बाँकी सबै विद्यार्थीलाई पनि क्रमशः प्रत्येक शुक्रबार परीक्षण गर्दै सेवा उपलब्ध गराउने योजना बनाएको छ । यससँगै विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी दन्त परीक्षणको दायरामा आउने भएका छन् ।
विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले विद्यार्थीको समग्र विकासका लागि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै हिमाविले विगतदेखि नै विभिन्न स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत ठूलो संख्याका विद्यार्थीमध्ये धेरैले नियमित दन्त परीक्षण गर्ने अवसर पाएका हुँदैनन् । यस्ता शिविरले प्रारम्भिक अवस्थामै दाँतसम्बन्धी समस्या पहिचान गरी समयमै उपचारको बाटो खोल्ने विश्वास उनले व्यक्त गरे ।
“हामी केवल पढाइमा मात्र सीमित छैनौँ, विद्यार्थीको स्वास्थ्य, सुरक्षा र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छौँ,” प्रधानाध्यापक श्रेष्ठले भने, “दाँतसम्बन्धी समस्या समयमै पहिचान गर्न सके भविष्यमा हुने जटिल स्वास्थ्य जोखिमबाट बच्न सकिन्छ । त्यसैले सबै विद्यार्थीलाई दन्त सेवाको पहुँच दिलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।”
शिविर सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग विद्यालयले उपलब्ध गराएको छ भने चिकित्सकीय तथा प्राविधिक सहयोग ओम शान्ति डेन्टलले प्रदान गरेको छ । विद्यालय र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यले विद्यार्थीलाई गुणस्तरीय सेवा निःशुल्क रूपमा उपलब्ध गराउन सफल भएको बताइएको छ ।
हिमावि स्काउट संयोजक तथा रेञ्जर लिडर टंक भण्डारीले नेपाल स्काउटको ७५औँ स्थापना दिवसलाई सेवामूलक कार्यक्रममार्फत मनाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनका अनुसार विद्यार्थीमा दन्त स्वास्थ्यबारे चेतना अभिवृद्धि गर्नुका साथै सबै विद्यार्थीको स्वास्थ्य अवस्था अभिलेखीकरण गर्ने लक्ष्यसमेत रहेको छ ।
ओम शान्ति डेन्टलका सञ्चालक कमलप्रकाश गैरेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार शिविरमा देखिएका अधिकांश सामान्य समस्या तत्काल समाधान गरिनेछ भने थप उपचार आवश्यक परेका विद्यार्थीलाई विशेष छुटसहित सेवा उपलब्ध गराइनेछ । “विद्यार्थीमा दाँतको हेरचाहबारे सचेतना बढाउनु अहिलेको आवश्यकता हो,” उनले भने, “सामान्य समस्या बेवास्ता गर्दा पछि जटिल रोगमा परिणत हुन सक्छन् । त्यसैले परीक्षणसँगै सचेतना पनि उत्तिकै महत्वपूर्ण छ ।”
विद्यालयले सुरु गरेको यो अभियानले आर्थिक अभाव, जानकारीको कमी वा पहुँचको समस्याका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ । साथै, विद्यालयले शिक्षासँगै स्वास्थ्य प्रवद्र्धनलाई पनि आफ्नो जिम्मेवारीका रूपमा आत्मसात् गरेको सन्देश दिएको छ । हजारौं विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दन्त शिविरले हिमाविलाई विद्यार्थीमैत्री र स्वास्थ्यप्रति संवेदनशील शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको उनको तर्क छ ।
खानेकुराको कारणले, समय समयमा ब्रस नगर्दा दाँतमा किरा लागेको शिविरको चेकजाँचबाट प्रमाणित भएको छ । तसर्थ अब यसबाट बच्न सम्बद्ध सबै सचेत रहनु पर्दछ । घरमा बालबालिकालाई नियमित ब्रस गराउने र दाँतसम्बन्धि केयर गर्न अभिप्रेरित गर्नुपर्ने शिविरमा खटिएकी चिकित्कहरु बताउँछन ।
चिकित्सकहरुले चिकित्सकीय सल्लाहका क्रममा दन्त चिकित्सकले दिनमा कम्तीमा दुई पटक फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्न, गुलियो तथा चिनीजन्य खानेकुरा कम गर्न, दाँत माझ्ने सही तरिका अपनाउन, दिनमा दुई पटक ब्रस गर्न र प्रत्येक ६ महिनादेखि १ वर्षमा नियमित दन्त परीक्षण गराउन, विद्यालयमा पनि विद्यार्थीको गिँजा र दाँत बेला हेरचाह गर्न सुझाव दिएका छन । साथै दाँत तथा गिजामा कुनै समस्या देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिन र मुख स्वास्थ्यप्रति सचेत रहन पनि परामर्श दिइएको थियो । मुख स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।”
विद्यार्थीको स्वास्थ्यसँग जोडिएका शिविर मात्र होइन अतिरिक्त क्रियाकलापबाट पनि विद्यार्थीको स्वास्थ्यप्रतिको चासोलाई प्रयोगात्मक रुपमा अगाडि बढाउँदै आएको छ । गुणस्तरीय शिक्षा र त्यसको परिणाममा दक्ष जनशक्तिसहित स्वस्थ जीवनमा बढी फोकस गर्दै हिमावि अगाडि बढेको सहभागी शिक्षक बताउँछन ।

Author

You may also like