देश–समाज समाचार स्थानीय

बालबालिकासँग दमक नगर प्रमुख थापा

–: पंकज दाहाल :–
दमक/ दमकको नगर बाल सञ्जालका अगुवा बालबालिक हरु शुक्रबार वडा नं. ६ स्थित पशुपति मन्दिरको तेश्रो तलामा रहेको सभाहलमा खचाखच हुनेगरी भेला भएका थिए । दमकका १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरी भेला भएका ती बालबालिकाहरुले एकपछि अर्को प्रश्न सोध्दै गए, दमक नगर प्रमुख रामकुमार थापालाई । नगर प्रमुख थापासँग उनीहरुले नगर बाल सञ्जालको आयोजनामा ‘बालबालिकासँग नगर प्रमुख’ भन्ने विशेष अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रम राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका थापा र सहभागी बालबालिका हरुले त्यहाँ गरेको प्रश्न र नगर प्रमुख थापाले दिएको उत्तर उत्साहजनक साथै निकै रोचक र घोचक रहेको थियो । कार्यक्रममा बालबालिका हरुले दमक नगरपालिकाले बालबालिकाका सवालमा गरेका गतिविधि, लिएको नीति, नियम र कार्यव्यवहारका बारेमा प्रश्नका माध्यमबाट गुनासोका रुपमा राखेका थिए भने कतिपय सवालमा सुझाव समेत दिएका थिए । त्यसैक्रममा अहिलेको बालेन सरकारले सुकुम्बासी बसेको सार्वजनिक नदी नाला किनारको जग्गामा रहेको डोजर लगाएर खाली गर्छु भनिरहेका बेला त्यहाँ रहेका बालबालिकाको शैक्षिक भविष्यप्रति देखिएको त्रास हटाउन नगरपालिकाले के गरिरहेको छ भनेर सहभागीमध्ये एकले प्रश्न सोधे, जवाफमा नगर प्रमुख थापाले भने– दमकमा अहिलेलाई त्यसरी डोजर लगाउने योजना र कार्यक्रम छैन  । तर आफूजस्तै बालबालिकाका लागि तपाईंले देखाएको चासो र चिन्ताप्रति मेरो पनि सदासयता र समर्थन छ ।’ तर नगर प्रमुख थापाको जवाफलाई अर्का एक सहभागी बालकले भने अर्कै ढंगले लिएछन् र ती बालकले जिज्ञासा राखे– यो कार्यक्रम कमेडी च्याम्पियन हो कि सभ्य अन्तरक्रिया  । मलाई नगर प्रमुखले दिएको उत्तर सुन्दा त यो अन्तरक्रिया होइन, कमेडी च्याम्पियन जस्तो पो लाग्यो त ?’ ती बालकको बुझाइ देखेर नगर प्रमुख थापाले हाँस्दै भने मैले त्यसो भन्न खोजेको होइन, सुकुम्बासी बसोबास भएका बालबालिकाको सवालमा भविष्यमा आउन सक्ने समस्याका विषयमा चासो र चिन्ता व्यक्त गरेकोप्रति समर्थन जनाउँदै त्यस्तो दिन नआओस् भन्ने चाहेको मात्र हो भनेर प्रष्ट पारे । बालबालिकाले सोधेको हरेक प्रश्न र मेयर थापाको जवाफमा सहभागीहरुबाट पटकै पिच्छे करतल ध्वनीका साथ गडगडाहट रुपमा ताली बजेको थियो । यस अर्थमा कार्यक्रम रमाइलो भएको थियो भने पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार निरौला र शिक्षा शाखा प्रमुख प्रविण खड्का भने बालबालिकाहरुको प्राथमिकता र उठेका महत्वपूर्ण समस्या समाधानका सवालहरुका बारेमा डायरीमा टिपिरहेका देखिन्थे । शुरुमा बालबालिकाको अवधारणाका बारेमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत जमुना पौडेलले स्लाइड प्रेजेन्टेशन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार सुजन गौतमले गरेका थिए । कार्यक्रममा नगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मको शिक्षा निःशुल्क भनेपनि कतिपय विद्यालयमा विद्यार्थी तथा अभिभावकबाट चर्को शुल्क असुल भइरहेको भन्दै सहभागीबाट प्रश्न उठेको थियो ।
त्यस्तै बढ्दो जनघनत्वसँगै बालबालिकालाई खेल्ने ठाउँ नभएको प्रश्नमा नगर प्रमुख थापाले त्यसका लागि प्रत्येक वडामा बाल उद्यान र व्यायाशाला बनाइएको जानकारी गराए । हंम्से दुम्से सामुदायिक वनमा बहुउद्देश्यीय पार्क बनाउने योजना अघि सारेको पनि उनले बताए । राजधानी काठमाडौं र मेचीनगरपछि दमक देशकै तेश्रो लागुऔषध दुव्र्यसनको अखडा रहेको तितो सत्य बताउँदै नगर प्रमुख थापाले लागुऔषध ओसारपसार र दुव्र्यसनको समस्या समाधानका लागि विशेष कार्यक्रम ल्याएर टोल टोलमा निगरानी, सचेतना, नियन्त्रण र दोषीलाई कानुनी कारवाही भइरहेको बताए । केही वडाहरु बालमैत्री घोषणा भइसकेको अवस्थामा सिंगो दमक नगरपालिकालाई नै बालमैत्री सुशासनयुक्त बनाउन तिव्र रुपमा कार्य भइरहेको नगर प्रमुख थापाको भनाई थियो । सामुदायिक विद्यालयमा मात्र सेनिटरी प्याड निःशुल्क वितरण गरेर निजी विद्यालयका छात्राहरुलाई विभेद गरिरहेको भन्ने सहभागीको प्रश्नमा नगर प्रमुख थापाले ‘त्यो कार्यक्रम संघीय सरकारको भएकाले आफूहरुले खासै केही गर्न नसक्ने’ जवाफ दिएका थिए । कार्यक्रम दमक नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्लेको अध्यक्षता र सचिव लेलिन गौतमको संचालनमा सम्पन्न भएको थियो ।

Author

You may also like