दमक/पछिल्ला केही महिनायता झापामा हत्या, घरेलु हिंसा, धारिलो हतियार प्रयोग गरी गरिने आक्रमण तथा लागूऔषधसँग सम्बन्धित घटनामा वृद्धि देखिएको छ । जिल्लाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध आपराधिक घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाउन थालेको छ ।
सबैभन्दा चर्चित घटनाका रूपमा दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको रमा तिवारीको शवलाई लिइएको छ। जेठ १३ गतेदेखि सम्पर्कविहीन रहेकी तिवारीको शव जेठ १६ गते फेला परेको थियो। प्रारम्भिक अनुसन्धानले हत्या गरेर शव खोलामा फालिएको हुनसक्ने संकेत गरेको छ ।
यसैबीच कनकाई नगरपालिका–५ मा सूर्यलाल राजवंशीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटना सार्वजनिक भयो। बिर्तामोड–१ मा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीमाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ भने घटनापछि उनी फरार रहेका छन्। अर्जुनधारा–८ मा मदिरा सेवनपछि भएको विवादले एक युवतीको ज्यान गएको घटना पनि हालै सार्वजनिक भएको थियो। हल्दीबारीमा श्रीमतीको हत्या भएको अर्को घटनाले घरेलु हिंसा गम्भीर अपराधका रूपमा बढ्दै गएको संकेत गरेको छ ।
लागूऔषध नियन्त्रणका क्षेत्रमा पनि चुनौती उस्तै देखिएको छ। प्रहरीले समय–समयमा लागूऔषध र तस्करीका सामान बरामद गरिरहेको भए पनि मुख्य कारोबारी तथा गिरोहका नाइकेसम्म पुग्न नसकेको आरोप लाग्दै आएको छ। अधिकांश घटनामा भरिया वा साना संलग्न व्यक्ति पक्राउ परे पनि संगठित सञ्जालमाथि प्रभावकारी कारबाही हुन नसकेको स्थानीयको गुनासो छ । पछिल्ला घटनाक्रमले झापामा अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता र नागरिक सुरक्षाबारे गम्भीर बहस सुरु गराएको छ । हत्या र हिंसात्मक घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन तथा संगठित अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनमाथि दबाब बढ्दै गएको छ ।

Author

You may also like