केराबारी । मोरङ् जिल्लालाई देशकै सुगम मध्येको जिल्ला मानिन्छ । तर यहि सुगम भनिने जिल्लाका दुर्गम क्षेत्रका बासिन्दाले गाउँसम्म पुग्ने पक्कि सडक पर्खिएको दशकौं भयो पुगेको छैन । यस्तै सुविस्ताको सडक नहुँदा वृद्ध उमेरमा पनि ज्येष्ठ नागरिकहरु कष्टपूर्ण यात्रा गर्दै बैंक धाउनु पर्छ । गाउँमा बैंक र बाटो दुवै नहुँदा उनीहरु समस्यामा परेका हुन् ।
राज्य पुनर्संरचनापछि पाँच गाविस जोडेर उत्तरी मोरङ्मा केराबारी गाउँपालिका बने पनि यहाँका बासिन्दाको सास्ती भने फेरिएको छैन। गाविस छँदा गाउँमै ज्येष्ठ नागरिक भत्ता पाउने बुढापाका हाल तीन÷तीन महिनामा भत्ता लिन केराबारी झर्नु पर्छ। गाउँपालिका बन्यो तर सडक सञ्जाल विस्तार भएन। गाउँसम्म बैंक पुगेन। केराबारी–२ को सिंहदेवीबाट ज्येष्ठ नागरिक भत्ता लिन केराबारी झरेकी ८१ वर्षिया दुर्गाकुमारी शाहीले बरु पहिले गाविसमा नै दिँदा सजिलो भएको तर अचेल बैंक धाउनु पर्दा हरौनी भएको गुनासो गरिन् । देशका संघीयता आए पनि गाउँमा बैंक र बाटो नआएको उनको दुखेसो छ । मध्ये वर्षामा घुमाउरो बाटो धाउनु पर्दा दिननै मायाँ मार्नु पर्ने उनको भनाई छ । केराबारी(२ का ज्येष्ठ नागरिक, एकल महिला, दलितलगायत सबैको नियति उही हो । हिउँदमा दुःखले गाडी गुड्छ । वर्षायाम सुरु भएपछि ठाउँ ठाउँमा पहिरो झर्छ । सडक अवरुद्ध हुन्छ । त्यसैले असार–भदौसम्म ५२ किलोमिटर घुम्नुको विकल्प छैन।
केराबारीदेखि सिंहदेवी, समेवा, बिहीबारे, लेटाङ, पाटीगाउँ जाने सार्वजनिक यातायातका गाडी छैनन्। रातो प्लेटका निजी सवारीसाधनमा अत्यन्तै कष्टकर यात्रा गर्नुपर्ने स्थानीय ७४ वर्षीय जयबहादुर राईको भनाइ छ । उहिले उमेरमा सात÷आठ घण्टामा पार हुने बाटो अचेल पूरै एक दिन लाग्न थालेको उनी बताउँछन् ।
बाटो : शुरु भयो, बनेन
सरकारले छ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी–सिंहदेवी सडक अलपत्र छ। सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले २०७६ साल साउन २० गते ठेक्का लगाएको सडक निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले आधा काम गरेर छोडेपछि अलपत्र भएको हो।
सम्झौता अनुसार २५ किलोमिटर लम्बाइको यो सडक २०७६ साल भदौ १० गते काम सुरु गरेर २०७८ साल भदौ ८ गते काम सम्पन्न गर्नुपर्ने थियो। ७० करोड ४९ लाख २९ हजार ३५५ रुपियाँ ६२ पैसामा ठेक्का लागेको सडक पटक पटक गरी छ पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक २०८० असार ३० गते काम सक्ने सहमति भएको थियो। पछिल्लो म्यादमा पनि काम सम्पन्न नभएपछि सहरी विकास मन्त्रालयले २०८१ साल चैत १४ गते ठेक्का सम्झौता खारेज गरेको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना प्रमुख शालिकराम देवकोटाका अनुसार यो सडक र मोरङकै लक्ष्मीमार्ग–डाँगीहाट–बनौल–बबियाबिर्ता हुँदै अमाहीबरियाती जोड्ने सडक संयुक्त रूपमा ठेक्का लागेको हो। पूर्वपश्चिम राजमार्गको बेलबारी–१०, भाउन्नेबाट दक्षिणतर्फ जाने तराईको यो सडक र राजमार्गकै सुन्दरहरैँचा–९ बाट उत्तरतर्फ जाने खोर्साने–केराबारी–सिंहदेवीको पहाडी सडक दुवै हाल अलपत्र छन्। खोर्साने–केराबारी–सिंहदेवी सडकमा १६ किलोमिटर सडक पूरै पहाडी क्षेत्रमा पर्छ। केराबारी–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू मदन भण्डारी राजमार्गलाई चिरेर जाने यो सडक भेडेटार–राँके–रवि सडकलाई जोड्ने रणनीतिक महत्वको सडक रहेको बताउँछन् । ताप्लेजुङबासीहरु इलाम झापा नपुगि सोझै केराबारी झरेर विराटचोक हुँदै विराटनगर पुग्न सक्ने विकल्प पनि रहेको छ। प्रदेशको राजधानीसँग छोेटो सडकले ताप्लेजुङ र पाँचथरका बासिन्दालाई जोड्ने यो सडकले समय र रकमको बचत गर्ने बताउँछन् ।