दमक/ अहिले रास्वपाको सुविधाजनक बहुमतको सरकार छ । सामान्यतया पार्टी प्रमुखनै संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने अभ्यास थियो । तर यस पटक त्यस्तो छैन । चुनाव अघिनै वालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको थियो । निर्वाचन जिते पछि रवि–बालेनको सहमति अनुसारनै सरकार गठन भएको छ ।
रास्वपा पार्टी प्रमुख रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका वालेन्द्र शाह प्रधानमन्त्री विचको राजनीतिक सहकार्यले राज्य सञ्चालन र राजनीतिक क्रियाशिलता अघि बढेको छ । प्रधानमन्त्री सांसद तथा सत्ता सञ्चालनका सरोकारवालाहरुसँग संवादमा जुटेका छन् । यता राजनीतिक नेतृत्व लिएका पार्टी सभापति लामिछाने राजनीतिक दलहरुसँगको संवादमा छन् । यसले पार्टी र सरकार दुवैलाई बलियो बनाउने देखिएको छ ।
पार्टी सभापति र प्रधानमन्त्रीबीच देखिएको राजनीतिक सहकार्यले राज्य सञ्चालनमा नयाँ ऊर्जा थपिएको छ । पछिल्लो समय प्रधानमन्त्रीले सांसद, सत्ता साझेदार तथा सरोकारवालासँग निरन्तर संवाद बढाउँदै लगेका छन् भने अर्कोतर्फ पार्टी नेतृत्व सम्हालेका लामिछाने राजनीतिक दलहरूसँग सहकार्य र समझदारीको वातावरण बनाउन सक्रिय देखिएका छन् । यो समन्वयात्मक अभ्यासले सरकार र पार्टीबीच सन्तुलन कायम गर्ने संकेत दिएको छ । सरकार सञ्चालनका कामहरू प्रभावकारी बनाउन नीतिगत स्पष्टता र साझा दृष्टिकोण आवश्यक हुन्छ, जुन संवादमार्फत सम्भव हुन्छ । यही कारणले प्रधानमन्त्रीको सक्रियता शासन प्रणालीलाई चलायमान बनाउन महत्वपूर्ण देखिएको छ । त्यस्तै, पार्टी नेतृत्वले विभिन्न राजनीतिक शक्तिहरूसँग विश्वासको वातावरण निर्माण गर्नु दीर्घकालीन स्थायित्वका लागि सकारात्मक पक्ष हो । यद्यपि, यस्तो सहकार्य दीर्घकालीन रूपमा प्रभावकारी बन्न निरन्तरता अपरिहार्य छ । राजनीतिक नेतृत्वमा रहने व्यक्तिहरूले सत्ताको मोहभन्दा माथि उठेर संस्थागत सोचलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । सत्तामा रहेका व्यक्तिहरूले पार्टीगत राजनीतिमा अनावश्यक हस्तक्षेप नगर्ने र पार्टी नेतृत्वले पनि शासन सञ्चालनमा असन्तुलन सिर्जना नगर्ने हो भने दुवै मोर्चा सुदृढ बन्न सक्छन् । नेपालको राजनीतिक अभ्यासमा प्रायः देखिने अस्थिरता र अविश्वासलाई चिर्न यस्ता सहकार्यको संस्कृति अत्यन्त महत्वपूर्ण मानिन्छ । यदि संवाद, सहकार्य र पारदर्शितालाई निरन्तरता दिन सकियो भने सरकार र पार्टीबीचको सम्बन्ध मात्र सुदृढ हुने छैन, समग्र राजनीतिक प्रणालीप्रति जनविश्वास पनि बढ्ने अपेक्षा गर्न सकिन्छ ।
राजनीतिक संवादमा सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक दलका नेताहरूसँग संवाद् थालेका छन् । यसै क्रममा उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे । रास्वपा सभापति लामिछानेलाई भेट्न लोसपाका अध्यक्ष ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् । आजपा अध्यक्ष साहसँगको भेटमा पनि सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए । देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवैपक्ष सहमत भएका छन् । आजपा अध्यक्ष साहका अनुसार लामिछानेसँग करिब २० मिनेट भेट भएको थियो । यसका अलावा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई कसरी हेर्ने, अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
भेटमा सभापति लामिछानेले सरकार सबैको हो र सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्ने चाहेको पनि बताए । जवाफमा आफूले सरकारले राम्रो गरे समर्थन नराम्रो हुन लागेको अनुभूति भए खबरदारी गर्ने बताएको साहले सुनाए ।
प्रम–गभर्नर भेट
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए । तर के के कुरा भयो त्यो चाहिँ थाहा नभएको उनले जनाए । भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ ।
सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा उनले खासै चासो नदिएको बताइएको छ । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ । राष्ट्र बैंकमा हाल कार्यारत १८ कार्यकारी निर्देशक मध्येबाट दुई जना उक्त पदमा नियुक्त हुन्छन् । यसका लागि ४ जनाको नाम गभर्नरले सिफारिस गर्ने र यसमध्ये दुईजना नियुक्त गर्ने व्यवस्था छ ।