दमक । देशभर दुर्घटनाबाट अकालमा ज्यान गुमाउनेको संख्या हरेक दिन बढ्दो छ । दुर्घटनाको पहिलो कारकमा चालकको लापरवाही देखिएको जुगौं भईसक्दा पनि चालकलाई जिम्मेवार बनाउन राज्यले नसक्दा दुर्घटनाबाट ज्याउन गुमाउनेहरुको संख्या बढ्दो छ । तर कारण त्यति मात्र जिम्मेवार देखिँदैन असुरक्षित सडक पनि जिम्मेवार पक्ष हो । राम्रा र फराकिला सडक निर्माणले एकातिर सहज बनाइदिएको छ भने अर्कोतिर तिनै सडक दुर्घटनाको कारक बनेका छन् । राम्रो र चिल्ला सडक मात्रै पर्याप्त छैनन । सवारी साधनको अस्वस्थ प्रतिस्पर्धा, बिनाट्रायल नै सवारी चालक अनुमतिपत्र वितरण, अनुशासनको कमी पनि सवारी दुर्घटनाको कारक बनेको छ ।
सरकारले सवारी चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुन्छ भन्दैमा सरकार उम्किन नपाउने विज्ञहरु बताउँछन् । हाम्रा सडकहरू वैज्ञानिक तवरले निर्माण नभएको उनीहरुको जिकिर छ । बनाइसक्दा सडक भत्किने वा होचो अग्लो देखिने सडक निर्माणले पनि दुर्घटना निम्त्याएको छ ।
यसबाहेक सरकारी पक्षबाट हरेक सवारी साधनका चालकको मानसिक अवस्था र हरेक वर्ष चार पटक चेकजाँच गर्नुपर्ने सवारी साधनका विषयमा ध्यान नपुर्याएका कारणले पनि सवारी दुर्घटना बढेको बताउँछन ।
झापामा ९ महिनामा ७० को मृत्यु
दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् ।
त्यस अवधिमा एक हजार ४१३ सवारी साधन दुर्घटना भएकोमा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।
गत बिहीबार दमक नगरपालिकाको भ्रमण टोली दुर्घटनामा पर्र्यो । नगरपालिकाको असल अभ्यास आदानप्रदान कार्यक्रम सकेर फर्किएको चालकसहित ७ जना रहेको स्कार्पियो उदयपुरको कटारीमा दुर्घटना हुँदा नगरपालिकाले एक कर्मचारी गुमायो ।
न्यायिक समितिका कानुन अधिकृत माधवप्रसाद बस्नेतको उक्त दूर्घटनामा निधन भयो भने चालकसहित वडाअध्यक्ष र अन्य कर्मचारी ६ जना उपचारमा रहेका छन् । सोमबार फेरी दमकमै अर्को दुर्घटना भयो । बाटोमा हिंड्दा हिंड्दै पश्चिमबाट आएको टिफरले ठक्कर दिँदा ४८ वर्षीया सिता वर्देवा घाइते भएकी छन् ।
धरान–भोजपुर बस दुर्घटना
धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा आज सोमबार बिहान दुर्घटना हुदाँ एक जना वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ । कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार बिहान १० बजेतिर दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा कति जना सवार थिए भन्ने खुलेको छैन । यद्यपि, १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी खनालले बताए । उनका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनाको अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।
तीन साधन एकै ठाउँ जुध्दा तीन जना घाइते
झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा सवारी साधन जुध्दा तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा रहेका एकजना र कारमा रहेका दुईजना यात्रुहरु सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि दमकको लाइफलाइन हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ । कमल गाउँपालिकाको पाडाजुँगीमा आइतबार साँझ टिप्पर, कार र मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना हुँदा क्षतिग्रस्त भएका छन् । कारको अगाडिको भाग पूरा कुच्चिएको छ । कार बिहेको रहेको बताइएको छ ।
एक युवाको मृत्यु
यसैगरी, स्कुटर दुर्घटनामा परी भद्रपुरमा एकजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतवारराति मेची राजमार्गको चारआली–केचना सडकखण्ड अन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका– २ बस्ने २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए ।
वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।