देश–समाज समाचार स्थानीय

मोरङको धनपालथानमा आगलागी, २ बालबालिकाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमा गाउँमा भीषण आगलागी हुदाँ दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन् । अनित मियाकी छोरी ४ वर्षीया रेश्मा खातुनको जलेर मृत्यु भएको हो । मृत्यु हुने अर्का बालक रहेका छन् । आगलागीबाट हालसम्म १२–१३ वटा घरहरु जलेर नष्ट भइसकेको छ ।
प्रहरी चौकी कर्सियामा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर स्थानीयबासी, प्रहरी र रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, बिराटनगर महानगरपालिकाको गरि ५वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भई सो आगलागी भएको हुन सक्ने जनाइएको छ ।
प्रहरीका अनुसार त्यहाँ रहेका ८ वटा घरहरु जलिसकेका र अरु घर नभएकोले जल्ने सम्भवना नरहेको प्रहरीले बताएको छ ।
झापामा डढेलोबाट लाखौंको क्षति
यसैगरी, झापाका विभिन्न तीनवटा सामुदायिक वनमा लागेको डढेलो लाखौँको क्षति भएको वन समूहहरुले जानकारी दिएका छन् ।
मौसममा पश्चिकी वायुको प्रभावका कारण चलेको तीव्र गतिको हावाहुरीले डढेलोलाई थप सहयोग गरेको प्रहरीले जनाएको छ ।
डढेलोका कारण झापामा ठुलो क्षेत्रफलको वनमा क्षति पुगेको छ । सोमबार दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट ५० बिघाभन्दा बढी वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली, भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै, दमक १० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ । तीव्र गतिको हावाहुरीका कारण आगो फैलिएर नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिका ६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । हिजो साँझ लागेको आगलागीबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले जानकारी दिए ।

Author

You may also like