समाचार

उपमेयरसँग किशोरकिशोरी कार्यक्रम

उर्लाबारी, २४ असोज-
किशोरकिशोरीमाथि हुने हिंसा र कुरीतिको अन्त्यका लागि उर्लाबारीमा ‘उपमेयरसँग किशोरकिशोरी’ कार्यक्रम सुरु गरिएको छ ।
उर्लाबारी-१ का दुई विद्यालयमा कार्यक्रम आयोजना गरी उपमेयर मीना खतिवडा पौडेलले किशोरकिशोरीका समस्याका बारेमा जानकारी लिइन् । शारदा माध्यमिक विद्यालय र बालज्योति आधारभुत विद्यालयका विद्यार्थीसँग उपमेयर पौडेलले अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा उनीहरुले भोगेका समस्याका बारेमा जानकारी लिएकी छिन् ।
सो अवसरमा उपमेयर पौडेलले लिंग र लैंगिकता बारे भ्रम र सत्य, महिला र बालबालिकामाथि हुने हिंसाका स्वरुप र हिंसाको प्रकार, कारण र असर, सामाजिक मूल्य मान्यता र यसबाट सिर्जित भेदभावका बारेमा विद्यार्थीलाई जानकारी गराइन् । कार्यक्रममा विद्यार्थीहरुले आफूले भोगेका समस्याका बारेमा गुनासा तथा जिज्ञासा राखेका थिए ।
उपमेयरसँग किशोरकिशोरी कार्यक्रम उर्लाबारीका सबै सामुदायिक विद्यालयमा सञ्चालन गरिने उपप्रमुख पौडेलले जानकारी दिइन् । कार्यक्रममा नगरपालिकाको महिला, बालबालिका शाखाकी कर्मचारी विष्णुमाया रम्तेलले पनि सहजीकरण गरेकी थिइन् ।

Author

You may also like