विराटचौक/ मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई जना बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार दुवै बालिका १४ वर्षका
छन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो । सुन्दरहरैंचा नगरपालिका ३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही पुस १ गते शुक्रबार दुवैजना विद्यालय जाने भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंँचाकै गौशालामा भलिबल हेर्न गए । भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा ४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा ६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले सुन्दरहरैंचा ७ बेलगाछीमा रहेको होटल दरबार इन रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पढ्नलाई विद्यालय गएका बालिका राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए । भोलिपल्ट अर्थात् शनिबार मात्रै उनीहरु घर फर्किए । अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवैजनालाई पक्राउ गरिएको छ । अभिभावकले इलाका प्रहरी कार्यालय बेलबारीमा आइतबार साँझ जाहेरी दिएका थिए । त्यसलगत्तै खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्नलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरँैंचा– ५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा– ६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी र कार्की घटनाका मतियार हुन् । उनीहरुले तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइदिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट सोमबार म्याद थप गरेर प्रहरीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने भएको छ ।