दमक/ दमक नगरपालिकाको यही साउन ११ गते बोलाइएको नगर सभा बैठक बस्ने वातावरण तयार भएको छ । पटक पटकको बैठक असफल भएपछि शनिबार बसेको नियमित नगर कार्यपालिकाको बैठकले सो वातावरण तयार गरेको हो ।
गत असार ११ गते बसेको नगर सभाको पहिलो बैठकमा उपमेयर रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेको आव २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम सहित वार्षिक बजेट पारित गर्न असार २७ गते दोश्रो बैठक बोलाइएको थियो । तर बैठकमा नेकपा एमाले तर्फका जनप्रतिनिधिहरुले फरक मत र राय सुझाव राखेर पहिले सो माथि छलफल गर्न भनेपछि बैठक बिथोलिएको थियो ।
त्यसपछि असार २९ गते बोलाइएको तेश्रो नगर सभाको बैठक र साउन ४ गते बोलाइएको चौथो बैठकमा पनि एमाले सदस्यहरुले उपस्थित नजाएका कारण कोरम नपुगेको भन्दै मेयर राम थापाले बैठक स्थगित गर्दै आएका थिए । पछिल्लो पटक साउन ११ गतेका लागि बोलाइएको पाँचौं पटकको नगरसभाको बैठक पनि उस्तै हुने हो कि भन्ने संशय भइरहेका बेला शनिबारको कार्यपालिका बैठकको सहमतिले निकास पाउने भएको छ ।
यस सम्बन्धमा एमालेका तर्फबाट आन्दोलनको उद्घोष गरेर अगुवाई गरिरहेका नगर सभासद् लोकबहादुर धिमाल भन्छन्– हामीले नगर सभा भाँड्न खोजेका होइनौं, विधानत राखेका फरक मतलाई नगर कार्यपालिकाको बैठक राखेर छलफल गरौ÷गराऔं भन्दा नमानेकाले नगर सभा बैठकहरुमा अनुपस्थित हुनु परेको हो । शनिबार बसेको कार्यपालिकाको बैठकमा पटके कर खारेज गर्ने, अति विपन्नलाई सहयोग गर्ने जस्ता मागहरु पूरा गर्ने सहमति भएपछि अब नगर सभा सुचारु हुनेछ ।’
यसैगरी उपमेयर रेगिना भट्टराई प्रसाईसँग प्रतिकृया लिँदा ‘यो कुनै ठूलो समस्या नभएको बताउँदै जुन कुराहरु केही सभासदहरुले उठाउनु भएको छ, धेरैजसो नीति तथा कार्यक्रममा समावेश छन् । जुन बुझाबुझको कमीले एउटा इस्यु बन्यो । जहाँसम्म पटके करको कुरा छ, त्यो त हामीले उठाउँदै आएका विषय हुन् । कसरी लगाउने, क–कसलाई छुट गर्ने भनेर छलफलका लागि बैठकको एजेण्डामा नै परेको थियो । तीन चक्के सवारी साधनको छुट गराउनुपर्छ भन्नेमा सबैको मानसिकता तयार थियो । तर भारतीय गाडीहरु मालसामान लिएर प्रवेश गर्छन्, ट्याक्टर, टिपरहरुलले बाटो भत्काइरहेका छन्, अन्य पालिकाका सवारी साधनहरुको कुरा छ ती सबैलाई छुटको सुविधा दिने हो कि नदिने भन्ने निर्णय गर्न आवश्यक थियो, यस्तै अति विपन्नलाई पहिले पनि राहत र सहयोग दिँदै आएको हो, जे भए पनि आपसी छलफलबाट सहमति बनेको छ । अब नगरपालिकाले तयार गरेको नीति कार्यक्रमहरुलाई सहज ढंगबाट पास गरेर नगरको हितका लागि सबै मिलेर काम गर्नु आवश्यक भएको उपमेयर भट्टराईले प्रष्ट पारिन् ।
यता नगरपालिकामा भएको विवादका कारण सर्वसाधारणका प्रशासनिक काममा शुक्रबारसम्म अलमल रहेपछि आइबारदेखि भने सबै सेवा र शुल्क लिने क्रम पूर्ववत ढंगबाटै यथावत राखिएको दमक–६ का वडा सदस्य कमल कुमार श्रेष्ठले जानकारी गराए । अब नगरपालिका र वडाबाट हुने कुनै पनि काममा बाधा अवरोध नभएको र सो खुला गर्ने सहमति बनेको उनले बताए ।